टेक्सस अस्टिनमा नेपाली समुदायमा रक्तदान र स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

Getting your Trinity Audio player ready...
|
सेडर पार्क,अस्टिन,टेक्सस / ब्लड डोनर्स अफ अमेरिका र ग्रेटर अस्टिन नेपाली समाजको संयुक्त आयोजना र प्राविधिक सहयोगमा आइतबार अस्टिनको सेडर पार्कमा रक्तदान कार्यक्रम सम्पन्न गरियो।
यी दुई संस्थाको संयुक्त प्रयासमा अस्टिन र ग्रेटर अस्टिन क्षेत्रमा विगत १० वर्ष देखि रक्तदान सेवा सञ्चालन गरिँदै आएको ग्रेटर अस्टिन नेपाली समाजका उपाध्यक्ष कृष्ण जिसीले बताए। यो संस्थाले हरेक तीन तीन महिनामा रगत दान कार्यक्रम आयोजना गर्ने गरेको र यसरी सङ्कलन गरिएको रगत वि आर ब्लड नामक संस्थाले सङ्कलन गरी व्यवस्थित गर्ने काम गर्दछ ।
आइतबारको कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए जसमा १२ जना नेपाली रहेका थिए । जसमा राम कुमार महत्वले ४८ औ पटक रक्तदान गरे । यो अवसरमा उनले रक्तदान अभियानमा सहभागिता बढाउन सबैमा अनुरोध गरे।
यसै गरी हुट्टोमा रहेको ग्रेटर अस्टिन नेपाली समाजको कार्यालय भवनमा आइतबार स्वास्थ्य सेवा कार्यक्रम पनि गरिएको थियो।
नेपाली व्यावसायिक डाक्टर, नर्स र अन्य प्राविधिकहरूको साझा संस्था ईमप्याक्ट नेपालको तर्फबाट आइतबार यहाँ स्वास्थ्य परीक्षण, रगत परीक्षण, एवं स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइयो ।
नेपालबाट आएकाका बुबा,आमा लगायत स्वास्थ्य सेवा ईन्सुरेन्स नभएका नेपालीहरू र स्थानीय बालबालिका निम्ति आवश्यक स्वास्थ्य सेवा पुर्याऊने उद्देश्यले यो संस्थाले ग्रेटर अस्टिन क्षेत्रमा सेवा उपलब्ध गराइरहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।
कार्यक्रममा १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए ।