‘म अब नैतिक रूपमा अध्यक्षको उम्मेदवार हुन मिल्दैन’: महेश श्रेष्ठ
पेन्सिल्भेनिया/ जापान निवासी व्यवसायी महेश्र श्रेष्ठले अब आफू गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्षको उम्मेदवार हुन नैतिक रूपमा नमिल्ने दाबी गरेका छन्।
एनआरएनएको एक समूहको केही महिना अगाडि सम्पन्न एघारौँ महाधिवेशनमा अध्यक्षका तीन उम्मेदवार मध्ये श्रेष्ठ पनि एक हुन्। नतिजा प्रकाशनका क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँ बुथबाट शून्य मत आए पछि विवाद हुँदा समानान्तर दुई समिति बनेका थिए।
एक समूहको अध्यक्ष डा. बद्री केसी र अर्को समूहमा आरके शर्मा अध्यक्ष थिए। शर्माको समितिलाई श्रेष्ठको पनि समर्थन थियो।
सर्वोच्च अदालतको फैसलाले त्यस अगाडि दशौँ महाधिवेशन पछिका सबै समितिलाई खारेज गरिदिएको छ। त्यसो त दशौँ महाधिवेशनमै एनआरएनए दुई चिरा भएको थियो। एक तर्फ तीन तीन अध्यक्ष थिए भने अर्को तर्फ विनोद कुँवर अध्यक्ष थिए। कुँवरको समूहलाई एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक शेष घलेलेको समर्थन थियो। सर्वोच्चले अब एनआरएनएको चुनाव गराउने जिम्मा घले संयोजक रहेको उच्चस्तरीय समितिलाई दिएको छ।
फैसला पछि पहिलो पटक एनआरएनएमा आफू पक्षीय अगुवाहरूको आइतबार भएको भर्चुअल भेलामा श्रेष्ठले संस्था बचाउन सबैले त्याग गर्नु पर्नेमा पनि जोड दिए। सर्वोच्चको फैसला पछि सबै पक्षले इगो छोड्नु पर्ने समेत उनले बताए।
‘दशौँ र एघारौँ महाधिवेशनका पदाधिकारी, उच्च स्तरीय समितिका साथीहरूले अब नेतृत्वको चाहाना गर्न हुँदैन।’ भेलामा श्रेष्ठले भने,’ यो बिचमा दुई चार वर्ष समय खेर गयो, धेरै पैसा पनि खर्च भयो, त्यसको जिम्मेवारी कसैले त लिनु पर्यो, त्यो जिम्मेवारी त्यो बेलाको पदाधिकारीले लिनु पर्छ।’
उनले अब आफू अध्यक्षको उम्मेदवार नहुने बताए। ‘म नैतिक रूपमा उम्मेदवार हुन मिल्दैन।’ उनले भने, ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छु, अबको नेतृत्वबाट हामी अलग हुनु पर्छ’
श्रेष्ठले सर्वोच्चको फैसला पछि पनि जटिलता रहेको बताए। ‘सदस्य को हुने, प्रतिनिधि को हुने, विधान के हुने भन्ने छ, यस्तोमा उच्चस्तरीय समितिको भूमिका महत्त्वपूर्ण छ।’
उने अरूलाई देखाउने भावनाले एकता नहुने बताए। ‘बद्री जी र हेमराजजीलाई (हेमराज शर्मा) म आग्रह गर्न चाहन्छु व्यक्तिगत इगो त्यागौँ कुलजीको पनि गल्ती छ, सबैले आत्मालोचना गरौँ त्यो भए एकता सम्भव छ।’
श्रेष्ठ २०१९-०२१ कार्यकालका कोषाध्यक्ष हुन्। त्यस पछिको उनले एनआरएनएमा पाएको पद खारेज भएको छ। उनी ०२१-०२३ का लागि उपाध्यक्षमा मनोनीत भएका थिए। पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसले श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको थियो। विवादित नतिजामा उनी तेस्रो स्थानमा थिए।
बैठकलाई सम्बोधन गर्दै समूहका अध्यक्ष आरके शर्माले सर्वोच्चको फैसला व्यक्ति भन्दा पनि संस्थाको हितमा रहेको दाबी गरे। शर्माले भने, ‘कसैको हारजित भन्दा पनि संस्थाको भलाइका लागि आएको हो।’
शर्माले अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिका टिप्पणी नगरिदिन आफू समूहकालाई आग्रह गरे। उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाब त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘पुराना कुरा छोडेर अगाडी बढ्नु पर्छ, गल्ती भएकै थियो कहिन काहीँ बाट संशोधन भयो।’ शर्माले भने। उनले एकताको महाधिवेशनमा जोड दिए। महेश श्रेष्ठले उठाएको नैतिकताको विषयमा भने शर्मा मौन रहे। उनी पनि २०१९-०२१ कार्यकालको सचिव हुन्। त्यस पछि दशौँ महाधिवेशनमा उनी उपाध्यक्षमा मनोनीत भएका थिए।
उनले आफूहरू एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए । शर्माले नेपालमा सत्ता गठबन्धन फेरिए पनि एनआरएनएको गठबन्धनमा फरक नपर्ने दाबी गरे। शर्मा नेकपा माओवादी निकट मानिन्छन्।
‘नेतृत्वको मात्र कुरा होइन, संस्थालाई सही ठाउँमा लैजानका लागि हाम्रो सहकार्य हो, यसका लागि अब पनि रहन्छ।’ शर्माले भने।
बद्री केसी समूहले आफ्नो गल्तीलाई स्विकार्न नखोज्दा र १० औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे ।
भेलामा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले संस्थाको गिरेको साख जोगाउन, पुन प्राप्तिका लागि सबैको सहयोग हुनु पर्नेमा जोड् दिए। उनले संस्थामा डेलिगेटको विवाद भएको र त्यसले एनआरएनको इतिहासमा कलङ्क भएको दाबी गरे। ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो, यो अभियान अभियानजस्तो भएन भनेर भनेका थियौँ, इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठुलो हुँदैन।’ पौडेलले भने।
भेलामा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुनिल साहले अदालतको फैसलालाई अवसरको रूपमा लिन पर्ने बताए। ‘सबैलाई समेट्नु पर्छ, हामीले नै गर्नु पर्छ।’
साहले संस्थालाई बचाउन सबै लाग्नु पर्ने र त्यसका लागि आफू तयार रहेको बताए।
एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम भने अर्को समूहका डा. बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मा प्रति आक्रमण भए। उनले केसी समूहका व्यक्ति अझै पनि अरूलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभानो देखाउन तल्लीन रहेको आरोप लगाए ।
‘अझै पनि सजिलो छैन, बिचमा बनेका संरचना के हुन्छन् भन्ने जटिल छ।’ गौतमले भने। उनले
एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरूले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।
खारेजमा परेको आरके समूहमा महासचिव बुद्धि सुवेदीले सञ्चालन गरेको कार्यक्रममा मध्यपूर्वका मनोज गोर्खाली, अमेरिकाबाट प्रमोद सिटौला, कृष्ण जीवी पन्त, डिलु पराजुली, डोलनाथ घिमिरे, गोविन्द सुवेदी सञ्जीव श्रेष्ठ, बिष्णु बराल, क्यानडाबाट बुद्धि वली, दीपक गौतम, माधव दुलाल, अस्ट्रेलियाका धर्मराज खतिवडा लगायतले आ आफ्नो धारणा राखेका थिए।
एनआरएनए : वद्री केसीले अदालतको मानहानी गरे ! -
April 9, 2024 @ 12:17 am
[…] […]