‘पत्रकार महासंघका संस्थापक सभापतिको विषय विवादरहित छ’
काठमाडौं । नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित भन्दै नेपाल प्रेस युनियनले उनका विषयमा विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा इटहरीमा सम्पन्न केन्द्रीय समिति बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै यस्तो आग्रह गरेको हो । घोषणापत्रमा पत्रकार महासंघलाई सदस्यताका विषयमा हचुवाका भरमा निर्णय नगर्न पनि आग्रह गरिएको छ ।
महासंघले हाल जिल्ला जिल्लामा पेसागत सक्रियताका आधारमा मात्रै सदस्य हुन पाइने भन्दै आबद्धताबाट नाम हटाइरहेको छ । सञ्चारकर्मीमाझ यो विषय हाल विवादित छ । सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ । यसलाई टुंगो लगाएर मात्र अविधेशन नगर्न युनियनको माग छ ।
बैठकले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न सुझाएको हो । प्रेस युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने उल्लेख छ । महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियनको साथ र सहयोग रहेको समेत जनाइएको छ ।
त्यसैगरी, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिक भुक्तानी, पेसागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा युनियन गम्भीर र चिन्तित रहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, निर्धारित सयममा पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गरेको छ ।
त्यसैगरी, सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।