सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने
काठमाडौं । जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको प्रमुख सुबेदार/ जेष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले उक्त बैठक शुक्रबार समापन गरेका हुन् ।
कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै शर्माले प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरू युनिट तथा सब–युनिटहरुका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा सब–युनिटहरुको संस्कृति र परम्परा कायम राख्न थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए ।
प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यवसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासगरी पल्टनको युद्धकार्य तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन पनि दिएका छन् ।
सम्बोधनकै क्रममा उनले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिए ।
विहीबार बलाधिकृत रथी अशोकराज सिग्देलले उद्घाटन गरेका समन्वयात्मक बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो ।