सामुदायिक सुरक्षाको नेतृत्व लिदै खानेपानी उपभोक्ता समिति

सुरेश सुवेदी/
काठमाण्डौ/ सक्षम नेतृत्व भयो भने समुदाय स्तरमा आवश्यक काम गर्न सकिन्छ भन्ने उदारण भएको छ ‘बृहत फस्कू खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ । काठमाण्डौ जिल्ला, नागार्जुन नगरपालिका वडा नं. ६ फस्कू सेवा क्षेत्र रहेको यस उपभोक्ता समिति २०६८ मा स्थापना भएको हो ।
केही वर्ष अधिसम्म यहाँ पिउने पानीको समस्या बिकराल थियो । सानो २ वटा धाराले खनाल गाँउ, कार्की गाँउ तथा नयाँ बस्तीलाई पुर्याउनु पर्थ्यो । हाल ४ सय ७५ घर धुरीलाई पानी वितरण गर्दै आएको यस उपभोक्ता समितिले स्वस्च्छ पानीका साथै सामुदायिक सरसफाई तथा सुरक्षाको क्षेत्रमा पनि महत्वपूर्ण काम गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०।८१ को लागि साधारण सभासमक्ष प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपभोक्ता समितिका अध्यक्ष नवराज कार्कीले प्रविधि मैत्री व्यवस्थापन गरिने जानकारी दिए ।
विपत् व्यवस्थापनमा अग्रसर
समितिको कार्य क्षेत्र भित्र आगलागी तथा अन्य विपतको जोखिम कम गर्न ठाउँ ठाउँमा साइरन यूक्त सूचना प्रणालीको व्यवस्था गरिएको छ ।
निर्माण हुँदै गरेको कार्यालय भवन र समितिको क्षेत्र भित्र CCTV (सिसि क्यामेरा) जडानको लागि पहल गरिने जानकारी दिदै अध्यक्ष कार्कीले भने ‘अग्नि नियन्त्रणको लागि फायर हाइड्रेण्डको व्यवस्थापन गरिनेछ ।’
समितिको कार्य क्षेत्र भित्र आगलागीको जोखिम कम गर्न ठाउँ ठाउँमा अग्नि नियन्त्रणको लागि फायर हाइड्रेण्डको साथै प्रत्येक उपभोक्ताको घरमा अग्नि नियन्त्रणको लागि छुट्टै पानीको लाइनको व्यवस्था समितिकै लगानीमा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रविधि मैत्री व्यवस्थापन गरिने जानकारी दिदै अध्यक्ष कार्कीले भने ‘पानीको महसुल भुक्तानी प्रक्रियालाई मोवाइल बैकिङ्ग पद्धतिका माध्यमबाट गरिनेछ ।’
समितिले जमिनमूनिको पानीको लागि विभिन्न उपायहरु स्वरुप प्रत्येक सदस्य १ रिचार्ज पिट निर्माणको अवधारणालाई अग्रगतिमा अगाडी बढाएको छ । कार्कीले भने ‘रिचार्ज पिट निर्माणको लागि १८ सदस्यहरुलाई अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।’ यस कामका लागि हाल प्रदेश सरकारको तर्फबाट १० लाख विनियोजन भएको छ ।

खानेपानी शुद्धताप्रति विश्वसनिय गराउन समितिको तर्फवाट प्राविधिक सहितको व्यवस्थापन गरी हरेक महिनामा पानी जाँच हुने गरेको छ ।
उपभोक्ता समितिले हासिल गरेको सफलतामा राजनीतिक दलहरु बीचको हार्दिकता र सामूहिकभावले काम गरेको यो एउटा अनुपम उदारण हो । समितिको कार्यशैलीबारे प्रशंसा गर्दै बाग्मती प्रदेशका पूर्वमन्त्री द्वय केशव पोखरेल तथा उध्दव थापाले विकासका लागि एकजुट हुन प्रेरित गर्ने बताए ।
सार्वजनिक स्नानस्थलको संरक्षण
परापूर्वकालदेखि सञ्चालनमा रहेको सार्वजनिक स्नानस्थल जुन हाल समितिको कम्पाउण्ड भित्र रहेको छ उक्त स्थानलाई उचित व्यवस्थापन गर्ने । साथै समितिको तर्फवाट जडान भएको तातोपानी सहितको स्नान क्षेत्रलाई उचित व्यवस्थापन सहित व्यवस्थित गरिनेछ ।
सरसफाइको अभियानअन्तर्गत सडक चोकमात्र होइन उपभोक्ताको ट्याङ्कीसम्म नै गर्दै आएको छ । ‘अब फोहोर व्यवस्थापनको क्षेत्रलाई व्यवस्थित गर्दै जाने योजना रहेको छ’ कार्कीले भने ।
यसैगरी, दिनानुदिन बढ्दै गएको जनघनत्वको कारण सृजित खानेपानी समस्यालाई व्यवस्थित गर्न फस्कू चोकस्थित सार्वजनिक स्थानमा समितिले एक थान डिप बोरिङ्ग गर्ने छ । यसका लागि विभिन्न निकायहरुसंग समन्वय गर्दै अन्य आयोजनाहरु सञ्चालनको पहल गरिने कार्कीको योजना छ ।

आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा ॐकारेश्वर महादेव मन्दिर अगाडी रहेको समितिको खानेपानी ट्यांकी र फस्कू सामूदायिक वन उपभोक्ता समूहको भवनको छेउमा रहेको खानेपानी ट्यांकी संरक्षण गर्ने र त्यसबाट स्थानिय बस्तीलाई हुनसक्न जोखिम न्यूनिकरण समेतलाई ध्यानमा राखी वाल निर्माण गर्नु पर्ने भएको हुँदा विभिन्न संघ/संस्था तथा स्थानिय निकायसंग समन्वय गरी वाल निर्माण गर्नको लागि पहल गरिने उल्लेख छ।
मेलमिलापको माध्यम बनेको खानेपानी
‘असल नेतृत्व भयो भने सकसपूर्ण काम पनि सहज हुन्छ’ भन्ने उदारण बनेको छ यो समिति । अभावका कारण स्थानीयहरु बीच प्राय: पानीकै कारण झगडा हुने सुनाउछिन् स्थानीय गोमा विक । आफ्ना आफन्त र छिमेकीसँग बर्षौसम्म पनि बोलचाल हुदैनथ्यो बिगतबारे बताउँछिन गोमा ।
अहिले खानेपानीका काममा सबै जुट्ने गरेका छन् । फरक राजनैतिक दल होस वा टोल समुदाय पानीको सवालमा मात्र होइन अन्य काममा पनि एक जुट भएको पाइन्छ । व्यावस्थपिका संसदमा समानुपातिक सभासद् रहेकी गोमाको बुझाइमा पनि असल र सक्षम नेतृत्वको कारण नै जटिल परिस्थीति पनि सहज भएको हो । उनले भनिन् ‘यसले सामुदायिक रुपमा हार्दिकता बढाएको छ ।’