एनआरएनए कुँवर समूहको अधिवेशन ६ महिना सर्ने सम्भावना

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) विनोद कुँवर समूहको अधिवेशन ६ महिना सर्ने सम्भावना देखिएको छ।
कुँवर समूहले मार्च १६ र १७ तारिख काठमाडौँमा ११ महाधिवेशन गर्ने तयारी गरिरहँदा नयाँ सम्भावना देखिएको हो। यो समुहलाई पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेको समर्थन छ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण यस्तो स्थिति आएको कुँवर समूहका एक पदाधिकारीले समाज टाइम्सलाई बताए।
‘विभिन्न देशका साथीहरू काठमाडौँ पुग्ने क्रम सुरु भएको छ तर, यस पटक अधिवेशन नभई साधारण सभा मात्र हुने सम्भावना बढ्दै छ।’ ती पदाधिकारीले समाज टाइम्स सँग भने।
एनआरएनएको दशौँ महाधिवेशनमा तीन तीन जना अध्यक्ष सहितको जम्बो कार्यसमिति चयन अवैधानिक भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले चैत २० गते (अप्रिल २ तारिख) फैसला सुनाउँदै छ।
‘आन्तरिक रूपमा अदालतको निर्णय पर्ख र हेर भन्ने भएको छ तर त्यसको आधिकारिक निर्णय साधारण सभाले गर्छ।’ ती पदाधिकारीले भने,’१७ तारिख साधारण सभा हुन्छ निर्वाचनको प्रक्रियामा जाने सम्भावना कम छ।’
सर्वोच्चको निर्णय के आउँछ त्यस पछिको परिस्थिति अनुसार रणनीति तय हुने उनले बताए। ‘सर्वोच्चले मान्यता दिए अरू साथीहरूलाई समेट्न गाह्रो हुन्छ, दिएन भने पनि निर्वाचनको औचित्य रहँदैन, अहिलेको समिति नै अवैधानिक हुन्छ।’ उनले भने,’त्यसैले साधरण सभा मात्र हुने निर्वाचनका कुनै पनि प्रक्रिया शुरु नहुने संभावना छ। ‘