‘दाङका युवा अमेरिकामा आफैले काम गर्ने रेस्टुरेन्टमा झुन्डिएको अवस्थामा भेटिए’

क्यालिफोर्निया/ दाङका एक युवा अमेरिकाको क्यालिफोर्नियामा एक रेस्टुरेन्टमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
दाङका मनबहादुर पुन सेक्रोमेन्टो स्थित आफै काम गर्ने रेस्टुरेन्टमा शनिवार दिउसो मृत भेटिएका हुन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार रुकुम चुनबाङ जन्मिएका पुन हाल तुलसीपुर ७ खर्चुवा घर हुने धनिलाल पुन र फुर्सी पुनका कान्छा छोरा हुन्।
राप्ति समाज अमेरिका अध्यक्ष सुरेन्द्र हमालका अनुसार नेपालीकै रेस्टुरेन्टमा काम गर्ने मनबहादुर दिउसो ब्रेकको समयमा किचनको भित्री स्कोरमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेको हो।
‘दाङमा उनी मेरै वडाका हुन्, उनका दाजु मेरा साथी पनि हुन् आज म घटना स्थलमा पुगे, घटना हुनु अगाडि मन बहादुरले नेपालमा परिवारलाई भिडियो कल गरेर म मर्दै छु भनेका रहेछन्।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा हमालले भने,’रेस्टुरेन्टमा दिउँसो ब्रेकको समयमा सबै लाखापाखा लागेको बेलामा घटना भयो प्रहरी पुग्दा ढिलो भइसकेको रहेछ।’
हमालका अनुसार घटना हुँदा रेस्टुरेन्टमा मनबहादुर मात्र थिए।’ब्रेकको समयमा सबै जना बाहिर निस्किएको समयमा घटना घटेछ।’ उनले भने।
हमालका अनुसार ३५ वर्षका मनबहादुर अवैध रूपमा तल्लो बाटो हुँदै अमेरिका आएको एक वर्ष पनि पुगेको छैन। उनको नेपालमा एक श्रीमती र दुई सन्तान छन्।