मन्त्री ज्वालाका बारेमा निर्णय गर्न एकीकृत समाजवादीमा अन्योल
काठमाडौं । नेकपा एकीकृत समाजवादी आफ्ना नेता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने÷नगर्ने अन्योलमा छ । बालकुमारी घटनामा छानबिन समितिले ज्वालाई दोषी दोखाएको थियो । उक्त घटना छानबिनको प्रतिवेदन समितिले प्रधानमन्त्रीलाई बुझाए पनि सार्वजनिक नहुँदा आवश्यक निर्णय लिन नसकेको पार्टीले जनाएको छ ।
एकीकृत समाजवादीको बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री ज्वालाको विषयमा पार्टी अप्ठ्यारोमा परेको बताए । प्रतिवेदन सार्वजनिक नहुँदा आन्तरिक रुपमा बहस र छलफल गरे पनि आवश्यक निर्णय लिन नसकेको जानकारी उनले दिए ।
उनले भने, ‘आजको बैठकमा मन्त्री प्रकाश ज्वालाको विषयमा हामी आफैं अप्ठ्यारोमा परेका छौं । प्रतिवेदनलाई क्याबिनेटले अध्ययन गर्ने र त्यसको निष्कर्षको आधारमा अगाडि बढ्ने भन्नुभएको छ । अध्ययन भएको कुरा हामीलाई जानकारी भएको छैन । प्रतिवेदन बाहिर सार्वजनिक भएको छैन । प्रतिवेदनमा कसलाई के कारणले दोषी देखाइयो भन्ने कुरा जानकारी पाउन सकेको छैनौं । बाहिर मिडियामा लेखिएका समाचारहरुले हाम्रो ध्यानाकर्षण भएको छ । आन्तरिक रुपमा बहस छलफल गरेका छौं । तर प्रतिवेदन पढ्न नपाएको कारण निष्कर्ष निकाल्न नसकेको हो ।’