अर्जुन मैनालीका दुर्घटनाले उब्जाएका प्रश्न
तरुण पौडेल/
मेरिल्याण्ड / अर्जुन मैनाली जी, एक सज्जन, परोपकारी, सबैको भलो चाहाने-रक्तदाता एवं रक्तदान संबन्धी चेतना तथा उत्प्रेरणाका लागि आफ्नै कमाइ खर्च गरीगरी धेरै मुलुक चाहारेका पाका मान्छेले अति पीडा हुने किसिमको आत्मदाह र मृत्युवरणको दुस्साहस गर्नुभो ! सन्नाटा र मथिँगल रन्थर्याउने यस्ता खवर्, मानिसहरुको चिन्तन जिज्ञाँसा; हामी बांचीरहेको समाज भित्रैको एउटा ऐना पनि हो ।
अर्जुन उत्प्रेरक, सबैलाई कमसेकम आफ्नो जन्मदिनमा रक्तदान गर्नुहोस भनेर झक्झक्याइ रहन्थे । अर्जुनले रगत र प्लेटलेट्स गरी २०६ पटक दान गरे। छ सय बढिको स्वयंले र अन्य हजारौंलाई रक्तदानको गर्न प्रेरित गरे। लाखौं मानवको ज्यान जोगाएका छन ।
अर्जुनले नेपाल र नेपालीको शीर उँचो पारेका थिए । उनी उदारहणीय थिए तर उनी भित्र खप्नै नसक्ने परिमाणको मानसिक, सामाजिक, आर्थिक, संबन्धीहरुको र भावनात्मक बोझ रहेछ भन्ने कुरा उनले लेखेको अन्तिम मार्मिक सन्देशले बुझाउंछ । उनलाई त्यो फेसबुक स्टाटस लेख्न कति मेहनत र सोचमग्न भएर परीश्रम गर्न पर्यो होला, संझदा पनि कहाली लाग्छ ।
जव वांणहरु खप्नै नसकिने भए पूर्ण सावधानीका साथ योजनवद्ध तरिकाले उनले देह त्याग गरे । उनले धेरैलाई रुवाएर गएका छन । समाजशास्त्रीय, मानवीय, सांस्कृतिक र सामाजिक संबन्धका हिसावले चुनौती हो कि एउटा एक सृजनशील, कर्मशील र अरुलाई बचाउने सत्पात्रले किन यस्तो मृत्युवरणको बाटो अपनायो तथा किन वाध्य भयो ? नेपाली समाजलाई अहं प्रश्न भएको छ ।
अर्जुनजी जे र जस्को प्रताडनाले एकवारको जुनी कै आसा मार्नु भो, वचनवांण सहन गर्न सक्न गर्न असफल हुनु भो, वहाँको लेखनीबाट भेउ पाउन सकिन्छ, त्यसैले बिचारेर्, मुख सम्हालेर्, अड्कलेर बोल्न पर्छ, जो सुकैले पनि भन्ने विकराल उदाहरण भएको छ यस दुर्घटना ।
अर्जुन आफैले लेखेका छन र तथ्यांक हरुले पनि पुष्टी गर्छन कि अमेरिकामा मात्रै गएको वर्ष पचास हजार बढिले आत्महत्या गरे । त्यसको दोबर संख्याले प्रयास गरे तर सफल हुन सकेनन । “नेपाली मूल र भुटानी जरो भएका नेपालीभाषी समुदायमा आत्महत्याको समस्या डरलाग्दो छ । मर्नेलाई भन्दा बाच्नेलाई, परिवारजन र भावीपुस्तालाई समेत धेरै नै पीडादायक हुन्छ कसैको पनि आत्महत्या ।”
केहि समय पहिले नेपाली समुदायका अगुवा कृष्ण लामीछानेले त्यस्तै बाटो अँगाले, अहिले अर्जुनको आत्मदाहले सामाजिक्, भावानात्मक र पारिवारिक संबन्धात्मक स्वरुप, तन्तुहरुको पक्षमा हाम्रो समाजका कमजोरीहरु छरपस्ट पारेका छन । भौतिक सुख सुबिधा, उच्च महत्वोकांक्षा, इगो र रंगीन भागदौडमा अमेरिका जस्तो उन्नत भूमीमा पनि ब्यक्ति, परिवार, समुदाय, बृहत्तर समाज भित्र गुडुलीएका धेरै पहेलीहरुलाई पोया पोया खोलेर निदान र त्यस्का कारण र निवारणका प्रेस्कृप्सन बनाउन जरुरी छ ।
मैनालीजीको परिवार र आफन्तलाई जुन बज्रपात परेको छ, त्यस्लाई समुदायले सक्दो मल्हम लगाउनु पर्छ, संगसंगै यस्ता दुर्दान्त अकल्पनीय खवर फेरि कहिल्यै सुन्न भोग्न नपरोस भनेर केही कदम, प्रयत्न लाई अघि बढाउन पर्नेछ ।
हाम्रो समाजभित्र लुकेका, लुकाइएका बिकृतिको बारेमा गहन अध्ययन तथा यहाँको केन्द्रिय, राज्य वा स्थानीय निकायको स्रोत र साधनमा पहुंच पुर्याउन सामाजिक संघसंस्था अभियन्ताहरुले संगठित र योजनबद्ध पहल गर्न सक्नु पर्ने टडकारो भैसकेको छ । स्वयंलाई नपरी मान्छेले चेत्दैन्, अझ नेपालबाट परदेशीएका धेरैले बुझ्न, सिक्न चाहादैनन । नयाँ भूमी, परिवेश तथा नेपाल तथा परदेश दुबैको संस्कृती र तौरतरिकामा खेल्न चाहने प्रबृतीले च्यापी एर मानिसहरु भित्रभित्रै पाकीसक्दा पनि पीडा लुकाएर बांच्न खोज्छन । अन्तत: कि पड्किएर वा सडेर मान्छे अस रल्ल पर्छ ।
मानसिक, पारिवारिक विचलन समस्या, राम्रोसंग बोल्न नजानेर, रिसिबी, बदलाको भाव, अरुको देखासिखी तथा आडम्बरले मान्छेलाई खोक्रो पार्दा समेत मानिसहरु फूर्ती लगाइरहन पछि पर्दैनन । अनि अर्जुन, कृष्ण का जस्ता कारुणिक खवर सुनीरहन हामी अभिसप्त भैरहने छौं । खुल्ला वहस र छलफल, चलाएर समाधानका उपायहरु खोज्न समुदायका अगुवा, वौद्धिक वर्ग, संघ-संस्था, संचार माध्याम र कलाकारहरुले उल्लेख्य भूमिका खेल्न सक्छन । कोही त निस्कनु नि सुरुवात गर्न !!!