अमेरिकाको कोलोराडोमा नेपालीहरूले आयोजना गरेको भ्यालेन्टाइन पार्टीमा ‘कुटाकुट’ !
पेन्सिल्भेनिया/ अमेरिकाको कोलोराडो राज्यमा नेपालीहरूले आयोजना गरेको कार्यक्रममा आपसमा कुटाकुट भएको छ। डी एन बी डिस्ट्रोले शनिवार राति आयोजना गरेको गायिका सपना श्रीसँग भ्यालेन्टाइनको “म्युजिकल भेटघाट” नाम दिइएको कार्यक्रममा सामान्य विषयलाई लिएर कुटाकुट भएको एक प्रत्यक्षदर्शीले समाज टाइम्सलाई बताए।
स्टेजमा नृत्य हुँदै गर्दा दर्शक दीर्घाको पछाडि रहेका एक जनाले ‘आफूलाई छेकियो’ भनेको निहुँमा हात हालाहाल नै भएको बताइएको छ। पटक पटकको झडप पछि कार्यक्रम नै केही समय अवरुद्ध हुन पुगेको थियो।
‘कोलोराडोका एक चर्चित व्यवसायी र एक महिला बिच भएको सामान्य भनाभनले झगडाको रूप नै लियो।’ ती व्यक्तिले टेलिफोन कुराकानीमा समाज टाइम्स सँग भने।
‘एक जनाको ५० डलर टिकट मूल्य तोकिएको कार्यक्रममा प्रायशः जोडी नै पुगेका थिए, कार्यक्रम राम्रै सँग चल्दै थियो, झन्डै दुई सय भन्दा बढी दर्शक हलमा थिए, सबैले रमाइलो गर्दै थिए, तीन जना नानीहरूको नाच सुरु भए पछि विवाद सुरु भयो।’ आफ्नो नाम सार्वजनिक गर्न नचाहने ती व्यक्तिले समाज टाइम्सलाई भने।
‘एकै पटक गड्याम्मै घटना भयो, ठ्याक्कै गल्ती कसको हो भन्ने त मैले पनि आँखाले देखिन तर पछि ती व्यवसायीले आफूलाई छेकियो भन्दा भनाभन भएको र हात हालाहालको अवस्था पुगेको भन्ने बुझियो।’ उनले भने। ‘पछि कुरा बुझ्दा ती व्यवसायीले महिलालाई हात छोडेको, त्यस पछि ती महिलाका श्रीमानले व्यवसायीलाई मुक्का प्रहार गरेको, फेरि व्यवसायीको परिवारले ती महिलाको श्रीमानलाई कुटेको अनि दुवै पक्ष बिचमा हानाहान, कुर्चीले समेत प्रहार गरे।’
झगडामा संलग्न महिला तर्फका व्यक्तिलाई स्वयम सेवकले हलबाट बाहिर निकाले पछि कार्यक्रम सुरु गर्न खोज्दा फेरि हङ्गमा भएको उनले बनाए।
‘तेस्रो पटक पनि झडप भए पछि आयोजकले झगडामा संलग्न सबैलाई बाहिर जान भनिएको थियो।’ प्रत्यक्षदर्शी ती व्यक्तिले भने।
समाज टाइम्सको टेलिफोन सम्पर्कमा आएकी आयोजक मध्येकी एक जनाले घटनाको समाचार नलेख्न अनुरोध गरिन्। उनले आफ्नो नाम समाचारमा कोट नगर्न पनि चेतावनी दिइन। ‘मेरो नाम लेख्नु भयो भने तपाईँलाई राम्रो हुँदैन।’
‘म चाहिँ यस बरेमा केही कमेन्ट गर्न चाहँदिन, हजुरले कार्यक्रम किन आयोजना गरेको हो भनेर सोध्नु हुन्छ होला भन्ने आस गरेको थिए।’ उनले भनिन्, ‘यो झैझगडा र कुनले चैँ धेरै समाचार बन्छ त्यसमा मात्र ध्यान भएको जस्तो फिल भयो यो झगडाको बारेमा म केही भन्न चाहँदिन हामी आफैलाई पनि पुरा घटना क्रम थाहा छैन।’
उनले कार्यक्रम पूर्ण सफल भएको बताइन । ‘सपना श्रीले पनि गाउनु भयो हामी राति १२ बजे सम्म बस्यौ, एक दमै राम्रो सँग सक्सेसफुल भयो, जो जोलाई समस्या थियो निकालियो उहाँहरू जानु भयो हामीले यसलाई सफलता पूर्वक सम्पन्न गर्यौ।’
‘यो कार्यक्रममा अलिकति खल्लो पना आउन त आयो हामीले डिस्ट्रभ हुन दिएनौ किनभने हाम्रो गोल, हाम्रो मिसन भनेको धेरै ठुलो छ, सानो तिनो आर्ग्यु भन्दा, त्यसले गर्दा त्यसलाई साइडमा राखेर जो जो आउनु भएको पाहुना छ उहाँहरू प्रति हाम्रो दायित्व छ।’ उनले भनिन्, ‘हाम्रो समाज हाम्रो साथीभाइ परिवारहरू हाम्रो दायित्व छ त्यस कारणले हामीले सबै इश्युलाई साइडमा राखेर अगाडि बढ्यौ आनन्द पूर्वक भयो। कोलोराडोका मान्छेहरूले पनि देखे को ठिक को बेठिक के को लागि तिनीहरू यहाँ आएको भनेर बुझ्नु भयो।’
उनले यो सनसनी पूर्ण समाचार नभएको दाबी गरिन्। ‘म तपाई सँग रिसाएको होइन मलाई यस्तो खालको प्रवृत्ति भएको न्युज च्यानल मन पर्दैन, सत्य भनौँ भने, न्युज भने पछि साँचो के हो र के दायित्व हो, यो झगडा नपरेको भए हजुरले मलाई फोन गर्नु हुन्नु हुन्न थियो होला?’ प्रतिप्रश्न गरिन्।
‘तपाईँले भ्यालेन्टाइन डे को कार्यक्रम के कारणले गर्नु भयो के छ मिसन भनेर सोध्नु भयो ? राम्रो कुराको तपाईँले प्रचार गर्नु हुँदैन नराम्रोको लागि मात्र गर्नु हुन्छ त्यसमा म बहस गर्न चाहन्न,
तपाईँहरूले राम्रो कुरालाई कहिल्यै पनि अगाडि बढाउनु हुँदैन नराम्रो कुरालाई उचालेर धारावाहिक बनाइदिनु हुन्छ, यो दुखको कुरा हो।’ उनले भनिन्।
उनले सामाजिक कार्यक्रमको लागि कार्यक्रम आयोजना गरिएको बताइन्। ‘हामी एउटा सानो सानो परिवार मिलेर समाजको लागि बच्चाहरूको लागि साङ्गीतिक शिक्षा दिने भनेर आर्थिक सङ्कलन गरेको नेपाली भवन बन्दै छ कोलोराडोमा त्यसका लागि आर्थिक सङ्कलनका लागि कार्यक्रम गरेको त्यो तपाईँहरूले कभर गर्नु हुँदैन थियो। कहाँ झगडा पर्यो भनेर खोज्नु हुन्छ तपाईँहरूलाई सनसनी खोज खबर चाहिएको छ त्यो गलत कुरा हो।’
उनले पत्रकार पनि नैतिकताको सीमामा बस्नु पर्नेमा जोड् दिइन्। ‘हरेक क्षेत्रमा नैतिकताको सीमा हुन्छ त्यो पत्रकारले पनि पालना गर्नु पर्ने हुन्छ। हजुरहरूको पनि दायित्व हो। यो त हाम्रो सानो बच्चाहरूलाई साङ्गीतिक शिक्षा दिने र नेपाली भवनका लागि चन्दा उठाउन कार्यक्रम गरेको हो। यसमा एक दुई व्यक्तिले दुर्भाग्य डिस एग्रिमेन्ट थियो, हामीमा केही छैन यसमा मलाई केही कमेन्ट गर्नु छैन।’
उनले समाचारमा आफ्नै नाम कहीँ कतै उल्लेख गरेमा नराम्रो हुने चेतावनी दिइन्।
‘मेरो नाम लिएर नपठाउनु होला, हजुर पत्रकार हुनुहुन्छ मेरो स्वीकृति नलिईकन मेरो अहिले यहाँ सबै जना पार्टीहरू पनि हुनुहुन्छ हजुरको यो रेकर्ड गरिराख्नु भएको छ भ्वाइस, मेरो स्वीकृति बिना मेरो सूचना सेयर गर्नु भयो भने हजुरलाई गाह्रो पर्छ। फलानोले यसो भनेको थियो भनेर मेरो नाम नलेखिदिनु होला लेख्नु भयो भने तपाईँको समाचारलाई नराम्रो हुने छ।’
कोलोराडोमा नेपाली समुदायको कार्यक्रम तनावपूर्ण भएको एक हप्तामा दोस्रो पटक हो। अघिल्लो साता नारी दिवसको कार्यक्रमको तयारी बैठकमा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता बिचमा पनि झन्डै हात हालाहालको अवस्था पुगेको जनाइएको छ।
कोलोराडोमा अगामी मार्चका लागि एक दिन दुई ठाउँमा नारी दिवसको कार्यक्रम राखिएको छ। जसको कारण लामो समय देखि त्यहाँको समाज दुई कित्तामा रहेको छ। एनआरएनए अमेरिका र स्थानीय महिला अगुवाहरूले एकै दिन फरक ठाउँमा एकै विषयमा कार्यक्रम राखेका हुन्।
महिला अगुवाहरूको नेतृत्व सरिता गुरुङले गरेकी छिन्। समाज टाइम्सलाई प्राप्त जानकारी अनुसार एकै दिन एकै विषयमा एकै ठाउँमा दुई कार्यक्रम राख्दा राम्रो सन्देश नजाने भन्दै कोलोराडोमा रहेका संघ संस्थाको प्रतिनिधि बिचमा छलफल चलिरहेको बेला अवस्था तनावपूर्ण बनेको हो।
एनआरएनए अमेरिकाको पछिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित व्यक्तिहरू बिच तनावपूर्ण अवस्था बन्न पुगेको थियो।