पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार
पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको छ ।
आयोजकका अनुसार महोत्सवको पाँचौँ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । एकै दिन १ करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए ।
महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिम कार्ड लिने र विभिन्न जातजातिको मौलिक पोसाक लगाइ तस्बिर खिचाउने दर्शकको भीड लागेको छ ।
महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितासमेत सुरु भएको छ । सोमबार लोकदोहोरी गायक राजु परियार र सिम्रन परियारको साङ्गीतिक प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिए ।
राजु र सिम्रनसँगै प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुङ्गाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगायतले साङ्गीतिक प्रस्तुति दिएका छन् । साँझको लाइभ ब्यान्डतर्फ लाहुरे एन्ड द ब्याड कम्पनीको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए ।