नेपाल एक चीन सिद्धान्तमा दृढ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् । काठमाडौंमा चिनियाँ नयाँ वर्ष कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताए ।
उनले, ‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौं । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।’
नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै उनले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट प्रतिबद्धता कुनै हालतमा प्रभावित नहुने बताए ।
चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले भने ‘दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख छ ।’
आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा आपसी सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको पनि उनले स्मरण गरे ।