त्यस पछि मबाट डर भाग्यो:कमल खनाल
विक्रम सम्मत २०५६ साल फागुन ८ गते साँझ बेलुकाको ८ बजेको थियो। टेलिफोनको सेटमा घण्टी बज्यो। सधैँ झैँ टेलिफोन उठाए। अपरिचित स्वर थियो। बोलीमा नरमपना नै भेटिएन। उनको मलाइ प्रश्न थियो आजको कान्तिपुरको लेख तपाइको होइन? मैले भने हो। उनले फेरि प्रश्न गरे हाम्रो बारेमा तपाइको धारणा के छ? मैले भने आजको कान्तिपुरमा प्रकाशित लेखमा जे छ त्यही हो मेरो धारणा भने। यति भने पछि उनले भने हामी तपाईँलाई भेट्न चाहन्छौ। मेरो मन चसक्क भयो। देशभर हत्या हिंसा बढिरहेको थियो। २०५६ साल माओवादी द्वन्द्वको उत्कर्ष समय थियो। मेरो नाममा तनहुँमा समेत माओवादीहरूले पत्र पठाइ सकेका थिए। मेरो नामको पत्र कसैले खोल्ने हिम्मत गरेनन्। म तनहुँ नगएको धेरै भइसकेको थियो। त्यसै वर्षको तिहार नवलपरासी मैँ मनाउने निर्णय गरियो। स्थान परिवर्तन हुँदा रमाइलो पनि भयो। नवलपरासीमा दिदी हुनुहुन्थ्यो।
उनीहरूले घरमा आउँछौ भने पछि मैले सोधे घर देख्नु भएको छ?उनले भने देखेको मात्र होइन “रेकी” गरेका छौ। उनले यति भने पछि मलाइ लाग्यो म सतर्क रहनु पर्छ। नत्र समय अनुसार जे पनि हुन सक्छ। मेरो मनमा यस्ता कुरा खेल्न थाले। रातको नौ बजिसकेको थियो। घरमा आउँछौ भनेपछि। सोच्न बाध्य भए। घरमा कसैलाई भनेको छैन। भनौँ भने सबै डराउँछन्। उनीहरूलाई घरमा बोलाउने त कुरा भएन। त्यो रात बिताउन मलाइ धेरै नै असहज भयो। रात भर उज्यालो कुरेर बसिरहेँ। काठमाडौँ उनीहरूको “हिट एन्ड रन” नीति सञ्चालनमा थियो। घर बाहिर हिँड्न पनि त्यति सहज थिएन। म अफिस गाडीमा आउने जाने गर्थे।
मैले उनीहरूलाई अफिसमा आउन अनुरोध गरेँ। उनीहरूले एउटा सर्त राखे। अफिसमा आउँदा हामीलाई सरकार पक्षबाट केही भयो भने तपाईँलाई बाँकी राख्दैनौ भने। मलाइ झनै डर लाग्यो। हाम्रो अफिस सबैका लागि खुला हुन्थ्यो। सिंहदरबार जस्तो कडा थिएन पस्न सबैका लागि सहज थियो। कुनै न कुनै काम लिएर ७५ वटै जिल्लाका मानिसहरू आउने ठाउँ थियो । उनीहरूले किन भेट्न खोज्दछन् ? डर सहितको कौतुहलता पनि भयो मलाइ । म तत्कालीन गृहमन्त्रीको नजिक रहेर काम गरेको मानिस परे। त्यसैले पनि स्वाभाविक थियो मेरो कौतुहलता। तनहुँमा गृहमन्त्री निकट रहेर काम गरेका होनहार कांग्रेसका जिल्ला तहका प्रभावशाली छ जना नेताहरूको माओवादी बाट हत्या भइसकेको थियो।
हत्याको क्रम चलिरहेको थियो। त्यसैले पनि मैले सजगता अपनाउनु अनिवार्य थियो। मैले अफिसमा भेट्न बोलाएँ। उनीहरूले समय तोक्न भने मैले १० बजेको समय दिए। तर भेट्न भने एक जना मात्र आउने रहेछन्। उनीहरूले मलाइ भेट्न आउने मानिसको हुलिया दिए। नाम दिए। तर मलाइ भेट्न खोज्नुको रहस्य अझै पत्ता लागेन।
अफिसमा भेट्ने कुरो मिले पछि म सुत्न गए। तर निद्रा लाग्न सकेन। भोलिपल्टको भेटको कार्यक्रमका बारेमा उनीहरूलाई जति चिन्ता र डर थियो होला त्यति नै मलाइ पनि डर थियो। उनीहरूलाई एउटा पक्षबाट मात्र डर थियो भने मलाइ दुवै पक्षको डर थियो। मैले माओवादी लाई भेटेको सरकारी सेनाले थाहा पायो भने पनि मलाइ खतरा थियो भने माओवादी बाट त यसै पनि खतरा छदै थियो।
मैले उनीहरूलाई भेट्न एउटा गोप्य योजना बनाए। अफिसका अत्यन्तै भरपर्दा तीन जना कर्मचारी साथीहरूलाई बोलाएँ र भने म यहाँ उभिन्छु। तपाइहरू तीन जनाले मलाइ हेरिरहने मलाइ कसै ले भेट्छ। भेट्दा उसले मलाइ के गर्छ त्यो सब हेरेर अफिस प्रशासनमा जानकारी गराउने भने तर मलाइ केही भएन र गरेन भने म आफैले जानकारी गराउँछु भनेको थिए। मैले उनीहरूलाई थापाथली जाने बाटो ,टेकु जाने बाटो र सुनधारा जाने बाटो तर्फको जिम्मा दिएर म दशरथ रङ्गशालाको मूल द्वारमा उभिए।
मैले दिएको समय बित्यो उ आएन। मैले दाँयाबाँया आँखा दौडाए अझै देखिन। मलाइ लाग्यो उनीहरू डराएर आएनन्। त्रिपुरेश्वर यसै पनि व्यस्त ठाउँ प्रहरीको गण त्यही नजिक थियो। आर्मीको कार्यालय पनि हाम्रो अफिस सँगै जोडिएको थियो। त्यसैले आर्मीहरूको आवतजावत बाक्लै हुन्थ्यो।
हामीले हाम्रो तयारी पुरा गरेर बसेका थियौ। आधा घण्टा पछि उ आइ पुग्यो। उ त पहिल्यै नै दश बज्नु अगाडि नै मेरो चेम्बरमा गएर बसिसकेको रहेछ। उनीहरूले मेरो पुरा हुलिया लिएर बसेका रहेछन्। उसले मलाइ अफिसमा देखेनन्। अफिस समय बित्दा पनि आएन हामीलाई ढाँट्यो भनेर फर्किएको रहेछ । हामी बिच समयको कुरा भयो अफिसमा भेट्ने पनि भनियो। यो स्थानमा भेट्ने भनेर भनिएन। म आफ्नै तयारीमा लागे। उ आफ्नै सुरले मेरो चेम्बरमा पुगेछ। मैले त्यति बेला गल्ती महसुस गरेँ।
तर केही समय पछि भनेकै हुलिया अनुसारको मानिस आयो र मलाइ भेट्यो र हिँड्यो। उ हिँडे पछि मैले हाम्रो साथीहरूलाई सोधे। उनीहरूले देखेनौ भने। मैले पनि मलाइ भेटे पछि उ कता लाग्यो थाहा पाइन देखिन। रत्नपार्कमा चटकेले चटक देखाए जस्तै भयो हाम्रो लागि। एउटा पत्र दियो र भन्यो भरे फलानो ………….कमरेडको फोन आउँछ भनेर हिँड्यो। उसको नाम………..थियो। पत्र दिने व्यक्तिको नाम माओवादी शान्ति प्रक्रियामा आउँदा समेत सुनेको थिइन। बेलुका फोन आउँछ भनेर फोन गर्ने मानिसको नाम भने मन्त्रीपरिषद् सम्म पुगेको सुने।
मेरा साथीहरूलाई पछि मात्र मैले भने। सुने पछि उनीहरू अलि त्रसित भए भने,एक जना अलि महसुर थिए। पैले नै भने को भए खुकुरी लिएर आउथ्ये भनेका थिए। तर घटना घटेको भए मेरो ज्यान धरापमा हुन्थ्यो। उसले एउटा पत्र दियो हिँड्यो। म मा त्रासदीपूर्ण खुलदुली बढ्यो। मेरो अनुमान रह्यो यो पत्रमा
पहिलो- पैसा माग गरेको हुनु पर्छ
दोस्रो -जागिरबाट राजीनामा दिनुपर्ने हुन सक्छ
तेस्रो- सचेत गराइएको हुन सक्छ
चौथो- गृह प्रशासन सम्मको पहुँच बनाउन खोजिएको हुनसक्छ आदि। तर के थियो त्यो घर पुगे पछि मात्र थाहा हुन्थ्यो र भयो।
तनहुँको पत्रले भने सार्थकता पाएन। मलाइ पत्र पठाउने माओवादी सातौँ दिनमा प्रहरीको इन्काउन्टरमा परेछन्। त्यो केश त्यतिकैमा हरायो। ठुलो रकम माग गरिएको मैले पछि थाहा पाए। मैले तनहुँ जान धेरै कम गरेको थिए।
मेरा भाइहरू दुवै जागिरमा थिए। कान्छो भाइ त प्रहरी फोर्समा थियो। माइलो भाइ शिक्षक थियो। हाम्रो परिवारमा स्वाभाविक रूपमा माओवादी थ्रेट थियो। अफिस छुटे पछि एक मिनट पनि ढिला नगरी घरमा पुगे। समय यस्तो थियो। पत्र खोल्न पनि धेरै होसियारी अपनाउनु पर्ने हुन्थ्यो। पत्र प्राप्त भएको र अगिल्लो दिनको माओवादीसँगको कुराकानी मैले कसैलाई पनि भनेको थिइन। परिवारमा चिन्ता थपिने डरले मैले भनिन। पत्र खोले पछि पत्र सहित भोलिपल्ट बिहानै गृहमन्त्रीलाई भेट्न ललितपुर पुगे। गृहमन्त्रीलाई भेटे पछि मैले आफूलाई सम्हाल्ने साहस प्राप्त गरे
जीवन एउटा संघर्ष हो भन्ने महसुस गरेर फर्के। त्यस पछि डर म बाट भाग्यो।
कमल खनाल,तनहुँ
र यो पनि…