भूकम्पका घाइतेहरुको सम्पूर्ण उपचार खर्च संघिय सरकारले बेहोर्ने, उपचार नि:शुल्क हुने
काठमाडौं। जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा हिजो मध्य राती गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघिय सरकारले बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघिय सरकारले गर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार नि:शुल्क गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समुन्यय गरेर आवश्यक औषधि सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए ।
स्थानिय र प्रदेश स्तरीय अस्पतालमा उपचार संभव नभएका गम्भिर घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको मन्त्री बस्नेतले बताए । यसका साथै भूकम्प प्रभावित जिल्ला जान चाहने त्यस क्षेत्रका प्रभावित व्यक्तिहरुका लागि स्वास्थ्य मन्त्री बस्नेतको पहलमा पुर्व अरनिको यातायत प्रालिले ४ वटा बस निशुल्क उपलब्ध गराएको छ । पुर्व अरनिको यातायत प्रालिका अध्यक्ष केदार क्षेत्रीले आवश्यकता अनुसार फेरि पनि बस थप्न सकिने बताए । यसैबिच मन्त्री बस्नेतले जाजरकोट र रुकुममा गएको भूकम्पलाई मध्यनजर गरेर द्रुतगतिमा उपचारमा लाग्न चिकित्सकहरु र सहयोगी संघसस्थाहरुलाई आग्रह गरेका छन् ।
सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय
सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन ।
हिजो राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए । प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए ।
पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिए । सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको थियो ।