ल्यानक्यास्टरमा मनाइयो सामूहिक रुपमा दसैँ-तिहार, खेलियो देउसी भैलो

ल्यानक्यास्टर, पेन्सिल्भनेनिया/ अमेरिकाको पेन्सिल्भेनियामा रहेका नेपालीहरूले दसैँ तिहार चाड सामूहिक रूपमा मनाएका छन्।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले आइतबार ल्यानक्यास्टर सिटीमा दसैँ तिहार शुभ कामना साँझको आयोजना गरी यहाँ रहेका नेपालीलाई सामूहिक रूपमा चाड पर्व मनाउने अवसर जुराएको थियो।
चार दशक भन्दा बढी समय देखि ल्यानक्यास्टरमा बसोबास गर्दै आएकी सामाजिक अभियन्ता मिना गिरीद्वारा पानसमा बत्ती बाले पछि शुभ-कामना साँझको सुरुवात भएको थियो।
यस्तै जस्मिन घिमिरेले ‘गणेश वन्दना’ नृत्यद्वारा सहभागीलाई स्वागत गरेकी थिइन्।
एसोसिएसनकी अध्यक्ष अर्चना शर्माले पेन्सिल्भेनियामा रहेका नेपालीलाई एउटै थलोमा चाड पर्व मनाउन कार्यक्रम आयोजना गरिएको बताइन्।
‘आफ्नो घर घरमा त हामी तिथि अनुसार नै दसैँ तिहार मान्छौ तर सबै जना एकै थलोमा भेला भएर आपसमा खुसी साटासाट गर्दै दसैँ र तिहारको बिच पारेर हामीले कार्यक्रम गरेका हौ।’ उनले भनिन्।
शुभ कामना साँझमा विविध सांस्कृतिक कार्यक्रम सहित देउसी भैलो पनि खेलिएको थियो ।
नेपालमा जन्मिएर अमेरिकामा हुर्किएका तथा अमेरिकामा नै जन्मिएका बालबालिकाहरूले पनि देउसी भैलो खेलेका थिए।
एसोसिएसनकी कोषाध्यक्ष अञ्जलिका केसीका अनुसार महिला र पुरुषले देउसी भैलो खेल्दा सङ्कलित दान संस्थाको खातामा जम्मा गरिने छ।
बालबालिकाहरूले देउसी भैलो खेल्दा प्राप्त दान भने उनीहरूलाई दामासाहीमा बाँड्न लगाइएको थियो।
बालबालिकाहरूले देउसी भैलोबाट प्राप्त दान आपसमा भाग लगाउँदाको दृश्य रोचक देखिएको थियो। कतिपय सहभागीले आफ्नो नेपालमा रहँदाको आफ्नो बाल्यकालको सम्झना गराएको बताएका थिए।
कार्यक्रममा सञ्जीव घिमिरे, आकाश केसी, सन्तोष सिवाकोटी, दीपिका प्रधान र एभरेस्ट ग्रोसरीलाई संस्थाको गतिविधिलाई सफल पार्ने आर्थिक सहयोग गरे बापत सम्मान गरिएको थियो।
एसोसिएसनको वर्तमान कार्यसमितिका सबै सदस्य महिला मात्र छन्। यो कार्यसमितिले कार्यभार सम्हाले पछि यो दोस्रो कार्यक्रम हो। यस अगाडि तीज पार्टी पनि व्यवस्थित र भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रममा तस्वीरहरु