राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गर्ने भनिएको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल युद्धका कारण अहिलेलाई गुटेरेसको नेपाल भ्रमण स्थगित गरिएको हो ।
असोज २६ देखि २९ (अक्टोबर १३–१६) मा भ्रमण गर्नेगरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको थियो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले महासचिव गुटेरसको भ्रमण तत्काललाई स्थगित भए पनि छिट्टै नै भ्रमणको अर्को मिति तय हुने बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागिता जनाउन गएका बेला महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
भेटमा दाहालले गरेको नेपाल भ्रमणको निम्तो गुटेरेसले स्विकारेका थिए । गुटेरेसले काठमाडौंमा संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने गरी तयारी गरिएको थियो ।
यसअघि सन् २००८ मा राष्ट्रसंघका तत्कालीन महासचिव वान कि मुनले नेपालको भ्रमण गरेका थिए ।