एनआरएनए अमेरिकाको म्याराथन बैठक: सुमन तिम्सिना प्रमुख संरक्षक नियुक्त, सल्लाहकारमा पाँच जना मात्र
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले आफ्नो प्रमुख संरक्षकमा सुमन राज तिम्सिनालाई नियुक्त गरेको छ।
एनआरएनए अमेरिकाको गत राती सम्पन्न म्याराथन बैठकले पूर्व अध्यक्ष तिम्सिनालाई प्रमुख संरक्षक नियुक्त गरेको हो।
एनआरएनए अमेरिकाका प्रवक्ता डा. राजन पन्तका अनुसार विधान अनुसार पूर्व अध्यक्ष मध्येबाट प्रमुख संरक्षक नियुक्त गर्ने व्यवस्था भए अनुसार नै तिम्सिनालाई संस्थाको सर्वोच्च पदको जिम्मेवारी दिइएको छ।
संरक्षक र सल्लाहकार सम्बन्धी अध्यक्ष डा. अर्जुन बन्जाडेको प्रस्तावलाई एनआरएनए अमेरिकाको दोस्रो बैठकमा प्रस्तुत गरिएको थियो।
शुक्रवार राति साँढे ६ घण्टा सम्म चलेको बैठकले अन्य चार जनालाई संरक्षकमा नियुक्त गरेको प्रवक्ता डा. पन्तले बताए।
पन्तका अनुसार पूर्व अध्यक्ष शिव राई, तिलक केसी, पशुपति पाण्डे र उमा थापा कार्की संरक्षकमा नियुक्त भएका छन्। सुमन थापा र दीक्षा बस्नेतलाई वर्तमान समितिको पहिलो बैठकले संरक्षकमा नियुक्त गरेको थियो।
पन्तका अनुसार प्रमुख संरक्षक र संरक्षक नियुक्ति सम्बन्धमा १६ जनाले फरक मत राखेका थिए। युवा उपाध्यक्ष अनुप खनालले नोट अफ डिसेन्ट राखेको जनाइएको छ।
सचिव दीपक सापकोटाका अनुसार शुक्रवार रातीको बैठकमा कार्यसमितिका ५७ मध्ये ४४ जनाको उपस्थिति रहेको थियो। जसमध्ये २४ जनाले आफ्नो धारण राखेका थिए। त्यसमा १६ जनाले प्रस्तावको विपक्षमा बोलेका थिए। आठ जनाले मात्र प्रस्तावको समर्थनमा बोलेका थिए।
प्रवक्ता पन्तले प्रस्तावित व्यक्तिहरूका बारेमा विवादको औचित्य पुष्टि गर्न नसके पछि अध्यक्षले अनुमोदनका लागि प्रस्ताव गरेको र त्यो पारित भएको बताए।
‘बैठकमा साथीहरूले आ आफ्नो धारणा राख्नु भयो, विभिन्न सुझावहरू पनि आएका थिए तर हुँदै हुँदैन भन्नेमा युवा उपाध्यक्ष मात्र हुनु भयो, त्यस पछि अध्यक्षले उहाँलाई नोट अफ डिसेन्ट लेख्ने सुविधा दिँदै पारित गर्नु भएको हो।’ प्रवक्ता पन्तले भने।
बैठकमा सल्लाहकार नियुक्त सम्बन्धमा पुरै प्रस्ताव पारित हुन नसकेको प्रवक्ता पन्तले बताए। ‘सल्लाहकारमा प्रस्तावित २७ जना मध्ये पाँच जना अध्यक्षको अधिकारको कुरा भयो त्यो पारित भयो बाँकी छलफल कै क्रममा छ।’ उनले भने।
पन्तका अनुसार डा. तारा सिग्देल, बाला घिमिरे, वासुदेव अधिकारी, दधि ढुङ्गाना र डा सञ्जु महतो एनआरएनए अमेरिकाको सल्लाहकार नियुक्त भएका छन्।
‘बाँकी २२ जनाको बारेमा अब के गर्ने भनेर सुझाव ल्याउन महासचिवलाई जिम्मा दिइएको छ।’ प्रवक्ता पन्तले भने,’ कानुनी बाटो के छ त्यो पनि हेर्नु भनिएको छ।’
एनआरएनए अमेरिकाको विधानले शपथ खाएको ६० दिन भित्रमा प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार नियुक्ति गर्नु पर्ने व्यवस्था छ।
म्याराथन बैठक, मध्यरातको साँढे ६ घण्टा के मा छलफल भयो ?
अमेरिका समयमा कठोर देश हो। पैसामा पेनी र समयमा पलपलको पनि हिसाब किताब हुन्छ। तर ४४ जना उपस्थित एनआरएनए अमेरिकाको शुक्रवार रातिको बैठक साँढे ६ घण्टा सम्म चलेको जनाइएको छ।
प्रवक्ता पन्तले सहभागी सबैलाई धित मर्ने गरी बोल्ने मौका दिँदा बैठक लामो (म्याराथन) हुन पुगेको बताए।
‘बैठकमा हामीले बोल्नै नपाउने भन्ने भए पछि सबैलाई पालो दिइएको हो।’ पन्तले भने,’जवर्जस्ती गर्यो भन्ने किन पार्ने।’
पन्तका अनुसार बैठकमा तीन प्रकारका विचार आएको थियो।
‘केही साथीको सबै प्रस्तावमा पुनर्विचार गर्नु पर्छ भन्ने थियो, त्यसमा युवा उपाध्यक्ष अनुप खनाल अगाडि हुनुहुन्थ्यो, दोस्रो हामीलाई हेप्ने, हाम्रो कुरै नसुन्ने भन्ने थियो, तेस्रो धार एक दुई जना मिलाएर लैजाउन् भन्ने थियो।’ पन्तले भने।
‘अध्यक्षले अनुप जीलाई नोट अफ डिसेन्ट लेख्न दिएर अरू पास भयो भनेर सुनाउनु भयो, पछि १६ जनाले विरोध गर्दा गर्दै कसरी पास भयो भन्ने साथीहरू पनि थिए, मौन बस्नेको त आपत्ति होइन त्यही भएर प्रस्ताव पास भएको हो।’ प्रवक्ता पन्तले भने।
प्रवक्ता पन्तका अनुसार बैठकमा आइसीसी डेलिगेटका विषयमा पनि छलफल भएको थियो। वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले अध्यक्ष र महासचिवको काममा आपत्ति जनाएका थिए। तर केही पदाधिकारीले वरिष्ठ उपाध्यक्षले पनि डेलिगेटको सम्बन्धमा कार्यसमितिलाई वास्ता नगरी सोझै आइसीसीमा नाम पठाएकोमा आपत्ति जनाएका थिए।
बैठकले हेल्प डेस्कको जिम्मा लक्ष्मण दर्लामी र न्युज लेटरको जिम्मा बिष्णु बराललाई दिने निर्णय गरेको छ।
संस्थालाई सहयोग गर्छु : तिम्सिना
एनआरएनए अमेरिकाको प्रमुख संरक्षकमा नियुक्त भएका सुमन तिम्सिनाले आफूले संस्थालाई सहयोग गर्ने बताएका छन्।
प्रमुख संरक्षक नियुक्त भए पछि समाज टाइम्स सँग कुरा गर्दै तिम्सिनाले उस बारेमा आफूले औपचारिक जानकारी नपाएको बताए।
‘अलिक पहिला अध्यक्ष बन्जाडेजीले भन्नु भएको थियो, आधिकारिक कुरा आएको छैन।’ तिम्सिनाले भने,’जिम्मेवारी के हो बुझ्नु पर्छ,संस्थाले राम्रो काम गरोस् डेलिभरी हुनु पर्यो, त्यसमा सहयोग गर्छु।’
तिम्सिना नेप्लीज अमेरिकन काउन्सिल न्याकका संस्थापक हुन्। पछि यही संस्था एनआरएनए अमेरिकामा परिणत भएको थियो।
तिम्सिनाले आफू २००३ देखि नै क्याकमा सक्रिय भएको र पछि २००८ देखि २०११ सम्म एनआरएनए अमेरिकाको अध्यक्ष रहेको बताए।