सरकार र राहत शिक्षकबिचमा सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुकाबीचमा ५ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामा सहमति जुटेपछि राहत शिक्षकहरुको आन्दोलन पनि स्थगित भएको छ । वैठकमा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको नेतृत्व गरेको गरेको नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।
तर, राहत शिक्षकहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका थिए । उनीहरुले शनिबारदेखि नै माइतीघरमा प्रदर्शन जारी राखेपछि सरकारले चासो दिएर वार्तामा बोलाएको हो । राहत शिक्षक र बालविकास केन्द्रका शिक्षकहरु आन्दोलनमा रहेका थिए ।