नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरले मनायो वीपी जयन्ती

भर्जिनिया, अमेरिका / नेपाली कांग्रेसका संस्थापक नेता नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) को एक सय दशौँ जन्मजयन्ती अमेरिकामा पनि मनाइएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरले आइतबार वीपीको बुहुआयामिक जीवनको बारेमा चर्चा गर्दै जन्मजयन्ती मनाइएको हो।
नेपाली कांग्रेसकी नेतृ तथा राष्ट्रिय सभा सांसद कमला पन्त प्रमुख आतिथ्यमा भर्जिनियावासीले वीपीलाई सम्झिएका हुन्।
च्याप्टरका कार्यवाहक सभापति यम कुमार सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा जिल्ला कमिटी बाग्लुङ्गका पूर्व सभापति सभापति प्रकाश पौडेल विशेष अतिथि रहेका थिए।

वीपीको तस्बिरमा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धाराबासीले वीपीको साहित्यिक जीवनका बारेमा प्रकाश पारेका थिए।
यस्तै प्रमुख अतिथि पन्त र विशेष अतिथि पौडेले वीपीको राजनीतिक जीवनका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रम गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, डा. रमेश राज पन्त, डा चिन्तामणि लामिछाने, डा. गोपी उप्रेती, डा देशराज संयोगले वीपीका बारेमा आआफ्नो धारणा राखेका थिए।
यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव बराल, जनसम्पर्क समितिकै नेताहरू
मुक्तिनाथ पन्त, राम मिश्र , रामशरण हुमागाईँ ,अर्जुन सिग्देल लगायतले पनि वीपीको बहू आयामिक व्यक्तित्व को बारे प्रकाश पारेका थिए।
कार्यक्रममा जानू ओझा , सुभद्रा पराजुली,नीलकण्ठ सुवेदीले कविता वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन राम मिश्र गरेका थिए।

पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका वीपीको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । उनले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए ।
कोइरालाले साथीहरूसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जन निर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दी गृहमा बसेका थिए ।
बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् ।
घाँटीमा क्यान्सर भएका कारण वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा भएको थियो।
