‘गदर २’ को सफलतापछि सन्नी देवललाई अफरै अफर

मुम्बई । फिल्म ‘गदर २’ को सफलताको मजा लिएपछि सन्नी देओल हाल अमेरिकामा छन् । उनीहरु त्यहाँ पारिवारिक बिदा मनाइरहेका छन् । यसैबीच अभिनेताको अर्को प्रोजेक्टलाई लिएर विभिन्न किसिमका खबरहरु आइरहेका छन् ।
गदर–२ को सफलतापछि सन्नीलाई बलिउडका धेरै चर्चित निर्देशकहरुले अप्रोच गरेको चर्चा छ । तर, ६५ वर्षको उमेरमा हिन्दी सिनेमाको इतिहासमा तेस्रो ठूलो ब्लकबस्टर दिएकी सन्नी आफ्नो अर्को प्रोजेक्टको बारेमा धेरै सोचिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुलाई आधार मान्ने हो भने हाल सनी देओल आफ्नो अर्को फिल्मका लागि निर्देशक राजकुमार सन्तोषीसँग कुरा गरिरहेका छन् । आमिर खानले आफ्नो ब्यानरमा यो फिल्म बनाउने चर्चा पनि छ ।
यसबाहेक सन्नीले निर्देशक जोडी अब्बास–मस्तानसँग पनि फिल्मको विषयमा भेट गरेको चर्चा छ । यो एक एक्सन थ्रिलर फिल्म हो जसको लागि सन्नीले अहिलेसम्म आइडिया मात्र लिएका छन् । उनिर्देशक जोडी अब्बास–मस्तान ‘बाजीगर’, ‘सोल्जर’ र ‘खिलाडी’ जस्ता फिल्मबाट परिचित छन् । यसबाहेक सन्नीले बोर्डर फेम निर्देशक जेपी दत्तसँग बोर्डर २ का विषयमा भएको चर्चा थियो ।
उता गदर फेम निर्देशक अनिल शर्मा पनि गदर २ को सफलता देखेर यसको तेस्रो भाग बनाउने योजनामा छन् । यसबाहेक उनी र सन्नी फिल्म ‘अपने’ को सिक्वेलमा पनि काम गरिरहेका छन् । अर्को वर्षदेखि सुरु हुने चर्चा छ ।
हाल सन्नी एक महिनाको छुट्टीमा परिवारसँग अमेरिका गएका छन् । त्यहाँबाट फर्किएपछि मात्रै उनले अर्को फिल्मको बारेमा सोच्नेछन् । सनीले वाईआरएफ र रोहित शेट्टीसँग पनि कुनै प्रोजेक्टमा छलफल गरिरहेको खबर छ ।