‘पशुपति प्रसाद २: भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।
भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । कमेडी फ्लेबरमा तयार पारिएको भिडियोमा दुई पात्रबिचको माया प्रेमलाई देखाइएको छ ।
दर्शकमाझ प्रतीक्षित रहेको फिल्मले ‘पशुपति प्रसाद’को निधन पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २: भष्मे डन’मा विपिनका अलावा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।