राष्ट्रिय हितलाई ध्यानमा राखेर सहायता लिनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा सोमबार आयोजित नेपाल नेवा: राष्ट्रिय सङ्घ समाजवादीको १७ औँ स्थापना दिवसमा उनले अमेरिकी सहयोग नियोग (एमसिसी) लगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए ।
उनले भने, ‘केही केही मानिसहरू एमसिसी लाई अस्वीकार गर्नुपर्थ्यो भन्छन् । अरू केही हैन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गतिविधिप्रति सधैँ सचेत छौँ । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौँ ।’
अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरू आफ्ना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सतर्क हुन आवश्यक भएको बताए । हाम्रो देश अत्यन्त भूराजनीतिक जटिलताको अवस्थामा रहेको र कहिले पनि अतिमा गएर राष्ट्रलाई फाइदा नहुने उनको भनाइ छ ।