आज मोती जयन्ती मनाइँदै
काठमाडौँ । आज राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८औँ जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् ।
मुख्यतः; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिनेछ ।
धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशको विशेष मान्यता रहेको छ ।
सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।