भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण मिति तोकियो, दुई कोच परिवर्तन
काठमाडौँ । साङ्गीतिक टेलिभिजन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ ।
बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भ्वाइस अफ नेपालको नयाँ शृङ्खलाको घोषणा गरिएको हो ।
नयाँ सिजनमा कोच दुई जना कोच परिवर्तन भएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार रहेका छन्। अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहेका छन् ।
डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदक मध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ब्लाइन्ड अडिसनबाट छनोट भएका ६४ प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्ने छन् ।
निर्देशक पौडेलका अनुसार पाँचौँ संस्करणमा ‘ब्लक्ड’ नियम पनि थपिएको छ । एउटा कोचले आफूलाई बलियो देखाउन यो नियम थपिएको भन्दै यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेललेको भनाई छ ।
उनले भने, ‘गत वर्षभन्दा झन्डै दोब्बरको सङ्ख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झन्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यस पटक धेरै जना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झन्डै १२० प्रतिभा साँच्चिकै अद्भुत छन् ।’
कोच राजेश पायल राईले अघिल्लो सिजनको अनुभवलाई आफूले नयाँ सिजनमा समेट्ने गर्ने बताए ।