वर्तमान संविधान बिपी विचारकै सार : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बिपी विचारकै सार भएको बताएका छन् ।
जननायक बिपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्म जयन्तीका उपलक्ष्यमा शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बिपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । ।
राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बिपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बिपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।
“ राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखा पर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उनको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बिपीले अघि सारेको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।”
राष्ट्रपति पौडेलले विश्वमा सर्वोत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बिपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको बताउँदै अहिले पनि सो दृष्टिकोण पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । “बिपीले देखाएको आदर्शमा हामी हिँड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु”, उनले पनि भने ।
“उहाँ राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिई कन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखि नसक्ने बिपीको जस्तो यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ” राष्ट्रपति पौडेलले भने, “त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।”
राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो सङ्घर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहु आयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगतमा रहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्च स्थानमा रहने बिपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहु आयामिक व्यक्तित्वलाई प्रस्ट्याएको पनि बताए ।
राष्ट्रपति पौडेलले भने, “स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रूपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।”
कार्यक्रममा ट्रस्टका सदस्य एवम् सांसद डा शशाङ्क कोइरालाले धन्यवाद ज्ञापन गर्दै बिपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए ।
ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बिपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
कार्यक्रममा बिपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र विमल पुरस्कृत भएका थिए । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
त्यस्तै बिपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्ली रमण शर्मा न्यौपाने पुरस्कृत भए । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मान पत्र रहेको छ ।
सम्मानित व्यक्तित्व विमलले बिपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवाद नै बिपीको राजनीतिको चेतनाको प्राण भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरू तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो ।