तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौँ । सरकारले, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ -नियमन नियमावली, २०८० स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ -नियमन नियमावली, २०८० स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्,‘आज बसेको मन्त्रिपरिषद्को बैठकमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ -नियमन नियमावली,२०८० लाई स्वीकृत गर्ने निर्णय भएको छ । ’
साथै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने देखि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेस गर्ने सम्मका पाँच वटा निणर्यहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
यी हुन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
–संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेस गर्ने ।
–निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
–स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
–चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।