चिनियाँ राजदूत सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर सहमहामन्त्री यादवको आपत्ति, बालकृष्ण खाँडलाई फसाइएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।
बुधवार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवल सोङको अभिव्यक्ति कूटनीतिक मयार्दाको विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबिच जुन कुरा बोल्नुभएको छ, वास्तवमा यो नेपालमा यसले एक किसिमले तरङ्ग ल्याएको छ । यो कूटनीतिक मयार्दाको विपरीत हो । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौँ ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
उनले नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन भन्दै थप भने, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबिचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वनामिकतामाथि हनन हो । नेपालीहरूलाई उहाँले अपमानित गर्नुभएको छ ।’
यादवले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुसी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरूलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस् भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरूको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको दाबी गरे ।
उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन ।’
उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जाहरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन । खाँणजीको खातामा कतै पनि अस्वाभाविक रकम देखिएको छैन ।’