बीआरआइलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने समय आएको सभामुख घिमिरेको भनाई
काठमाडौँ । सभामुख देवराज घिमिरेले चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजना, राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरताका साथ अगाडि बढाउनुपर्ने समय आएको बताएका छन् ।
विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा उनले विश्वको उदीयमान अर्थतन्त्र बनेको चीनबाट नेपालको राष्ट्रिय हित अनुकूल हुने गरी क्षेत्रगत रूपमा सहयोग लिन नेपालले सक्नुपर्ने धारणा राखे । साथै उनले अमेरिकाको एमसीसी परियोजना जस्तै बीआरआईलाई पनि राष्ट्रिय हित अनुकूल हुने गरी गम्भीरता साथ अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकहरूबाट हुने फाइदा कसरी लिन सकिन्छ यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले यसलाई बडा गम्भीरताका साथ लिनुपर्ने बेला आएको जस्तो लाग्छ ।’
उनले एमसीसी परियोजना जस्तो बिआरआई चर्चामा नआए पनि राष्ट्रको हितको लागि सोचेर परियोजनालाई अवलम्बन गर्नुपर्ने बेला आएको धारणा राखे ।
भारत र चीन बिचको प्रभाव, आर्थिक विकास र प्रतिस्पर्धाबाट नेपालले फाइदा लिनु अवसर र चुनौती दुवै भएको बताएका उनले दुबैसँग सन्तुलित नीति लिएर नेपालको विकासको लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
घिमिरेले भने, ‘नेपाल दक्षिण एसियाको क्रस रोडको रूपबाट रहेको छ भने पूर्व एसियाको पनि क्रस रोडको रूपमा रहेको छ । भौगोलिक अवस्थितिको कारणले अहिले आफूलाई बलियो बनाएर अगाडि बढिरहेको चीन र इन्डिया बिचको आर्थिक प्रतिस्पर्धाको बिचबाट नेपालले कसरी फाइदा लिने यो एउटा हाम्रो लागि एका पट्टी अवसरको कुरा रहेको छ भने सँगसँगै चुनौतीको कुराहरुपनि छ ।’