माओवादी भएकै कारणले कुनै अपराधीले छुट पाउँदैन्: गृह मन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् ।
शनिवार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडे गाउँमा सम्बोधन गर्दै उनले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भए पनि कानुनको कठघरामा ल्याउने भन्दै माओवादीको नेतृत्वको सरकार छ बाचिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिए ।
उनले भने,‘अहिले ६० किलो सुनको तस्करी र ९ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौँ । सरकारको कुरा के छ भने जो सुकै परोस् दोषी र अपराधी छन् भने , अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानुनको कठघरामा ल्याउने छौँ । कुन पार्टीको, कोसँग कस्तो सम्बन्धको मान्छे मतलब छैन । कोही माओवादी भएपछि अपराध गरेनी बाँचिन्छ होला माओवादीको नेतृत्वको सरकार छ सोच्नुपर्देन् अपराधी माओवादी भए पनि कारबाही हुन्छ ।’
माओवादी नै नेपालको सबैभन्दा अग्रगामी र राम्रो पार्टी भएको उनको दाबी छ । उनले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागु गर्न र समाजवादीको रणनीतिलाई अङ्गाल्न माओवादीको नेतृत्वले मात्र सम्भव भएको जिकिर गरे ।
उनले भने,‘माओवादी नै नेपालको सबै पार्टी मध्य सबैभन्दा अग्रगामी र राम्रो पार्टी हो । र हाम्रो पार्टीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्छ । अहिले सामाजिक न्याय समेतको समृद्धिको कार्यनीति लागु गर्न र समाजवादीको रणनीतिलाई अङ्गाल्न नेपालमा हाम्रो पार्टीको नेतृत्वले मात्र सम्भव छ ।’
मन्त्री श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार र तस्करी विरुद्धको अभियान चलाई राखेको भन्दै त्यसले आम जनतामा आशा पैदा गरेको बताए ।