पारस खड्काको दोस्रो इनिङ कस्तो होला?
काठमाडौं । २ वर्षको कुलिङ पिरियड पछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटमा दोस्रो इनिङको सुरुआत गरेका छन् ।
हुन त यो इनिङ उनले केही दिन पहिला काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्य भएर सुरु गरि सकेका थिए । त्यतिबेला भन्दा यस पटकको उनको इनिङ झनै महत्वपूर्ण छ । काठमाडौं जिल्ला कार्यसमिति सदस्य भएपछि उनी बागमति प्रदेशको प्रतिनिधि पनि बने र बागमतिकै अध्यक्ष पदमा चुनाव लड्न पुगे ।
बागमति प्रदेशका ६ जिल्ला मध्य उनलाई ४ जिल्लाले समर्थन गर्दा २ जिल्ला विपक्षमा रहे । ३७ जना प्रतिनिधिले मतदानमा (शतप्रतिशत) सहभागिता जनाए । जसमा पारससहित उनको सम्पूर्ण प्यानलले २३ मत प्राप्त गर्दा विपक्षी समूहको नेतृत्व गरेका उमेश पियाले १४ मत प्राप्त गरे । चुनाव पछि खड्काले सवैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली क्रिकेटमा सुनौलो अक्षरले आफ्नो नाम लेखाउन सफल पारसको दोस्रो इनिङ कस्तो होला सवैले कौतुहलतापूर्वक हेरिरहेका छन् ।
पारस नेपाली क्रिकेटका सफल कप्तान हुन् । अब उनी बागमति प्रदेश अध्यक्ष भएसँगै केन्द्रीय कार्यसमितिको चुनाव लड्ने बाटो पनि खुला भइसकेको छ । पारस बागमति प्रदेशमामात्रै सिमित हुने पात्र भने होइनन् ।
उनले केन्द्रीय कार्यसमितिमा पनि तयारी सुरु गरिसकेको बुझ्न सकन्छि । अहिले नेपाली क्रिकेटको असोज ५ र ६ गते हुने चुनावका लागि वर्तमान अध्यक्ष चतुरवहादुर चन्दले नै दोहोरिने इच्छा देखाइरहेका बेला उनलाई कोषाध्यक्ष रोशन सिंहले पनि चुनौती दिइरहेका छन् । पारसलाई अहिले चतुरबहादुरको टिमको रुपमा आसन्न चुनावमा देख्न सकिने बताइए पनि पारस आफैले भने फलानो समूह भनेर नखुले पनि उनी केन्द्रीय सचिवको उम्मेदवारको रुपमा हेरिएको छ ।
तर, पारसले केही दिन पहिला पत्रकार सम्मेलन गरी आफू बागमति प्रदेश निर्वाचित भएपछि गर्ने कामको लिस्ट सार्वजनिक नै गरेका छन् । उनले ग्रासरुट देखि बागमति प्रदेशले खेलाडीलाई पारिश्रमिक दिनेसम्मका योजनाहरु पनि सार्वजनिक गरेकाले आगामी दिनमा त्यो कार्यान्वयन गर्नका लागि पनि उनी केन्द्रीय कार्यसमितिको कुनै भूमिकामा पुग्नै पर्ने अवस्था पनि छ ।
साथ साथै पारसको नाम बागमति अध्यक्षको रुपमा अघि आउँदा सर्वसम्मत हुने अपेक्षा विपरित चुनाव नै लड्नु पर्ने जुन अवस्था आयो यसले आगामी दिनमा उनलाई काम गर्नका लागि सहज भने देखिदैन ।