सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धूमधामका साथ मनाइँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज धूमधामका साथ गौरा पर्व मनाइँदै छ ।
सुदूरपश्चिमवासीले धूमधामका साथ मनाउने गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने चलन छ । सुदूरपश्चिमका ठुलो पर्वको रूपमा स्थापित यस यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक बिदा दिने गरेको छ । सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व भएकोले सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिने गरेको छ ।
गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर यो पर्वको थालनी गर्ने चलन छ । जसलाई विरुडा भनिन्छ । यस दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुँडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने गर्छन्। गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुँडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने चलन छ ।
बिरुँडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउने गरिन्छ । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने चलन छ ।
गौरा भित्र्याइसके पछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा गाउँदै चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।
काठमाडौँमा पनि यस दिन सुदूरपश्चिमवासीहरुले धूमधामका साथ यो पर्व मनाउने गर्छन् ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्व, २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको तर्फबाट जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ ‘ सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्दछु । ’