भर्जिनियाको यात्रा र तटीय क्षेत्रको जात्रा
कमल खनाल /
नर्थ क्यारोलाइना,अमेरिका/१४ तारेख २०२३ को ८.१५ बजे घरबाट भर्जिनियाका लागि यात्रा गरियो। “काहा थियौ ए फूलथुगें रानी “बोलको गीतबाट यात्रा सुरु भयो । अमेरिकन सडकको यात्रा रमाइलो त हुने नै भयो तर स्पिड मेन्टेन गरेर जानु पर्ने थियो । अन्यथा पुलिसको पन्जामा परिने डर त्यति नै हुन्थ्यो। त्यसैले पनि गाडी तोकिएको स्पिडमा चलाउनु पर्ने थियो,जङ्गलको बिचका सडकहरूमा।
नर्थ क्यारोलाइनाको सुन्दरता भनेकै सडकका दाँया र बाँयाका हरियाली नै हो। सडक छोपिने गरी गाडीहरू सडकमा थिए। हरेक यात्रामा यात्रीहरूको आफ्नै गन्तव्य हुन्छ नै। त्यसरी नै सडक छोपिने गरी सडकका दाँया बाँया कुदिरहेका गाडीहरूको पनि गन्तव्य निश्चित थियो हाम्रो जस्तै। मालवाहक ठुला लरीहरू देखि साना ट्रकहरू समेतको चाप सडकमा थियो। ४६४ को एक्जिट लिएर आइ ९५ नर्थ रिचमोन्ड तिर गाडी अगाडी बढ्यो। ११० माइल बाँकी नै हुँदा नै (वेल कम टु भर्जिनिया ) भर्जिनियाको बोडर क्रस गरियो। १.४९ मिनट बाँकी थियो भर्जिनियावीच पुग्न ।नर्फोल्कमा रहेका सौन्दर्य हेर्नका लागि सबै आतुर थियौ।
नर्थ क्यारोलाइना छोडेर भर्जिनिया प्रवेश गरे पछि २६४ इष्ट लागियो। यसले यूस एस १३ नर्थ पोर्टस्माउथ नर्फोलक भर्जिनिया बिचको सङ्केत गर्यो। मिलिटरी हाइवे सफा र फराकिलो थियो। इन्डियन रिभर रोडक्रस गरे पछि हामी चिसापेग बे तिर लाग्यौ। बिहानै बैनी रमासँग कुराकानी भएको थियो। साउथ भर्जिनियामा रहेको नर्फोल्ककामा रहेका नर्फोल्क बोटानिकल गार्डेन ,क्लाइस्लर म्युजियम अफ आर्ट ,भर्जिनिया जू, चिसापेक बे ब्रिज टनेल र नाभेल स्टेसन लगायतका घुम्ने र हेर्ने ठाँउहरूका बारेमा।त्यस मध्ये चर्चित र हेर्न छुटाउन नहुने चिसापेक बे ब्रिज टनेल रहेछ।गाडी त्यतै तिर मोडियो।
चिसापेक बे ब्रिज टनेल
भर्जिनिया प्रवेशको पहिलो प्राथमिकतामा पर्यो चिसापेक बे ब्रिज टनेल। म २००५ को सेप्टेम्बरमा पहिलो पटक पुगेको थिए चिसापेक बे ब्रिज टनेल हेर्न। तर त्यो दृश्यले मेरो मनलाई अधैर्य बनाइरहेको थियो। दोस्रो पटक पुगेर धोको मेटाउने प्रयास पनि पुरा हुन सकेन। पुन अर्को समयको प्रतीक्षा गर्नै पर्ने भयो। यो ब्रिज एट्लान्टिक ओसनमा निर्माण गरिएको १७ .६ माइलको संसारकै तेस्रो लामो ब्रिज रहेछ। पुलको बिच भागमा चार वटा आइस ल्यान्ड निर्माण गरिएका रहेछन्। त्यसलाई अझै बृहत्तर रूपमा निर्माण गर्न लागिएको रहेछ।
यस पटक आइसल्यान्डमा गएर गाडी पार्किङ्ग गरेर क्षितिजसम्मका दृश्यहरू हेर्ने र आनन्द लिने मौका अर्को पटकलाई बाँकी राखेर फर्कियौ। नर्थ र साउथ जोडिएको ब्रिजले मेरिल्यान्ड डी.सी र न्युयोर्ककालागि दुरी कम गरिरहेको थियो। ब्रिज प्रवेश द्वारमा नै टिकटको व्यवस्था रहेछ। सानो गाडी भएकोले १४ डलर तिरेर एटलान्टिक ओसनको अतृप्त दृश्य हेर्दै नर्थ पोल टोल प्लाजामा पुगेर गाडी रोक्यौ। केही समयको आनन्द लिएर साउथ पोल टोल प्लाजाबाट निस्केर सिटी प्रवेश गर्यौ। अझै इष्ट र वेष्टकोष्टमा समेत टनेल ब्रिज निर्माण गर्ने योजनामा काम भइरहेको रहेछ।
आधुनिक इन्जिनियरिङ टेक्नोलोजीको क्षेत्रमा यो ब्रिज सातौँ आश्चर्य मानिँदो रहेछ २०० मिलियन डलरमा निर्माण गरिएको यो ब्रिज १९६४ मा सम्पन्न भएको रहेछ। अमेरिकामा धैर्यता छैन। भोलि आउन र पाउन कठिन अमेरिकामा। हरेक दिन आज मात्र हुने रहेछ। आज नै गरिने कामले गति लिइरहेको हुने रेहेछ। चिसापेक बे ब्रिज टनेलको निर्माण हेर्दा त्यस्तै लागिरहेको थियो।
निर्माणको काम कहिल्यै नसिद्धिने दृष्टान्त थियो यो। चिसापेक बे ब्रिजको सौन्दर्यले हामीलाई एक घण्टा तीस मिनटको समय बिताउन असजिलो भएन। तर हाम्रो उद्देश्य भने पुरा हुन सकेन। यो ब्रिजलाई संसारका कैयौँ मानिसहरूले हेरिसकेका होलान्। त्यहाँबाट प्राप्त हुने आनन्द पनि लिइसकेका होलान्। तर पनि अझै यो ब्रिजको सौन्दर्य बढाउँदै लगेर मानिसहरूको चाहना अतृप्त बनाउने कोसिस भइरहेको जस्तो लाग्यो।
ब्रिज टनेल टुरिस्टको आकर्षणको केन्द्र रहेछ। वार्षिक ६० लाख भन्दा बढी मानिसहरू पुग्दा रहेछन् यो ब्रिज टनेलको यात्रामा। मानिसहरूको मनलाई रमाइलो र दिमागलाई नयाँ नयाँ पनहरूको अनुभूति गराउने यो ब्रिज टनेल भन्दा पनि अझै लामा दुई वटा अन्डर सी ब्रिज मध्ये जापानको होन्सु र होकाइडो हुँदै छुगारू स्ट्रेट पुग्ने ३३ माइल (५४ कि मी )लामो र समुद्री सतह भन्दा ७९० फिट तल रहेको संसारकै सबै भन्दा लामो ब्रिज टनेल रहेछ।
यसरी नै दोस्रो लामो च्यानल टनेल जुन बेलायतको दक्षिण भाग डोभर देखि फ्रान्सको उत्तरी भागसम्म जोडिएको समुद्री सतह भन्दा तल रहेको ,जसलाई इगंलिस च्यानल पनि भनिन्छ। जुन टनेल ३१ माइल ५० किमी रहेको छ। यसै च्यानेल टनेलमा १९९६ मा बेलायतकी राजकुमारी डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो।
एट्लान्टिक ओसनमा जलक्रीडा
होटेलमा सामान राखेर एट्लान्टिक ओसनको तटीय क्षेत्र तिर जाने तयारीमा लाग्यौ। ४.४५ को समय भएको थियो। एट्लान्टिक ओसनको तटीय क्षेत्रमा पुग्यौ र जलक्रीडा गर्न समुद्रीजललाई स्पर्श गर्यौ। पानी चिसो चिसो थियो। तटीय क्षेत्रमा मानिसहरूको घुँइचो थियो।
एटलान्टिक ओसनका तटीय क्षेत्रहरू भरिभराउ थिए। केटाकेटी देखि बूढाबूढीहरू सम्मले जलक्रीडाको आनन्द लिइरहेका थिए। हाम्रो पुरै समूह नै एकाएक जलक्रीडामा होमियो। मैले आधा घन्टामा नै समुद्रको नुनिलो पानीसँग सम्बन्ध विच्छेद गरे। आँखाले देखिने दृश्यहरूमा धेरै समय बिताए। धेरै सोच बने र भत्किए। मैले मेरो मस्तिष्कलाई पुरै नियन्त्रणमा लिए।
अमेरिकीहरूसँग कस्तो कन्फिडेन्स ?उनिहरूले लाज भगाइसकेका रहेछन्। मैले भने लाजलाई पोको पारेर बसेको थिए। समय र विकासको गतिमा कति ठुलो अन्तर भित्र र बाहिरको। मेरो मन पनि अधैर्य भइनै रह्यो। उनीहरू तीन घण्टासम्म समुन्द्रमा उठेका छालहरूसँग जिस्किरहे। क्रीडा गरिरहे। मैले केही फोटो लिए। लिन लगाए। जीवनले प्राप्त गर्ने सुख त्यही मात्र थियो कि भन्ने झैँ लाग्थ्यो देखिएका दृश्यहरू बाट। लाजसँगै जल क्रीडा गर्नेहरू पनि थिए। लाजलाई पानीसँगै तैराएर जलक्रीडा गर्नेहरू पनि थिए।
संसारका विभिन्न कुनाबाट आएका मानिसहरूको आनीबानीमा अमेरिकाले कति ठुलो परिवर्तन ल्याइदिँदो रहेछ।पचास वर्ष अघि र पछिको समाजलाई कति सजिलै समाहित गर्न सक्दो रहे छ। एउटै भूमि ,भेष र भाषामा रमाइ रहेको देखिन्थ्यो। लज्जालाई लुकाउने र माया गर्नेहरूले पनि लज्जालाई खुल्ला स्पर्श गरिरहेको दृश्यले पचास वर्ष अगाडि नै उनीहरूको जीवनले प्राप्त गरेको नयाँ पनले आफ्नो र आफ्नाहरूलाई बिर्साइ दिइरहेको प्रतीत हुन्थ्यो।
जे होस समुद्रका तटीयक्षेत्रहरूले दिने रमाइलो अन्त कहा पाइन्थ्यो र ! तटीय क्षेत्रले रमाइलो दिइरहेको थियो र रमाइलो थियो तटीय क्षेत्र। एटलान्टा ओसनका धेरै तटीय क्षेत्रहरूमा पुगेको छु। जलस्पर्ष गरेको छु। समयले होला तातो र चिसोको अनुभव गरेको छु। तटीयदृश्यहरूलाई सम्झिरहेको छु। जहाँ मैले मेरा मनहरूलाई धेरै दुख दिएर समालेको थिए।
एट्लान्टिक ओसनमा क्रुजको सफर
बेलुकाको सूर्यास्त र बिहान सूर्योदयको सामुद्रिक दृश्यका लागि तटीय क्षेत्रमा गएका थियौ ।सूर्यका कमजोर र शक्तिशाली किरणहरूको पल पलका क्षणहरूको आनन्द लिने काम गर्यौ। बडो सुन्दर घामका किरण समुद्रमा तैरिरहेको मनमोहक दृश्यले मन मस्तिष्क सारा गुजुल्टियो।
छोप्न खोजौँ खोजौँ जस्तो लागे पनि नसकिने। समुद्रमा तिलमिलाइ रहेका घामका कलिहरूले मनलाई एकत्र बनाएर दिमाग खालि बनाइ रहेको थियो। सामुद्रिक छालले जीवनको दर्शन बोकिरहेको थियो। समुद्रको तटीय क्षेत्रमा मानिसहरूको भीड बढिरहेको थियो। आँखाले हेर्न चाहे सम्मका दृश्यहरू देखिन्थे। मानिसले लिने आनन्द सबै लिन सकिने क्षणले आफै हराएको अनुभव भइरहेको थियो।
१०.३० का लागि डल्फिन ट्रिपका लागि क्रुज को टिकट निश्चित थियो। एट्लान्टिक ओसनको डल्फिन ट्रिपका लागि क्रुजको १.३० घण्टाको यात्रा गरियो। समुद्रमा डल्फिनहरू खेलिरहेका दृश्यहरू देखिए। मानिसले जीवनको आनन्द लिने र डल्फिनले आफ्ना सारा शक्तिहरू खर्चिएर खेलिरहने ठाँउ नै समुद्र भित्रका भागहरू हुन। त्यसैले समुद्र र डल्फिनको सम्बन्धलाई नजिक बाट नियाल्न डल्फिन ट्रिपका लागि क्रुजको यात्रा गरेका थियौ।
समुद्र माथि डलफिनट्रीप क्रुजको यात्राले अनपेक्षित आनन्द दिइरहेको थियो। समुद्रबाट निस्कने छालहरूले क्रुजलाई हल्लाइ रहेको थियो। समुद्र शान्त देखिए पनि समुद्रलाई चलाउनेहरूले समुद्रलाई अशान्त बनाइरहेका थिए। प्रकृति निर्मित सागर माथि मानव निर्मित बस्तुहरूको दबदबा बढिरहेको देखिन्थ्यो।
समुद्रमा तैरिने जहाज भरि मानिसहरू थिए। कतिपय क्रुजहरूले मानिसहरूलाई निश्चित समय र दिशा तर्फ लगिरहेका थिए भने कतिपयले मनोरञ्जनकालागि डल्फिनसँगै क्रुजलाई खेलाएर आनन्द दिइरहेका हुन्थे।
डल्फिनट्रीपमा क्रुज जसरी नै मानिसहरूको सोच ,सपना र आनन्द पनि तैरिरहेका थिए। तिनै तैरिरहेका सपना र जहाजको सुरक्षाका लागि हेलिकप्टरले सुरक्षा घेरा तय गरेको थियो। मानिसहरूले बितेका क्षण र दिन पुरै भुलेका थिए। आफ्नो सोखलाई समुद्रमा पोखिरहेका थिए। पुरा गरिरहेका थिए।
११.५८ मा डल्फिन ट्रिप टुङ्गियो क्रुज आफ्नो निर्धारित समय पुरा गरेर गन्तव्यमा पुग्यो।हामीलाई समुद्र माथिको यात्राबाट विच्छेद गरायो। त्यस पछि दुई बजेर बीस मिनेट जाँदा एट्लान्टिक ओसनको तटीय क्षेत्र लाई पुरै छोडियो। डल्फिनट्रीपका लागि क्रुजको दुई सय बाउन्न डलरको निर्धारित यात्रा टुङ्ग्याएर हामी आफ्नो गन्तव्य तिर लाग्यौ।
र यो पनि…
औपचारिकतामा भानु र अन्योलमा घांसी: कमल खनाल