‘वैदेशिक रोजगारीमा जाने कामदारलाई दुःख दिने र व्यवसायी तर्साउने काम बन्द होस्’
काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काएको विरोधमा अध्यागमन कार्यालय अगाडि व्यवसायीहरुले प्रर्दशन गरेका छन् ।
नेपाल वैदेशिक रोजगार संघले विमानस्थलका कर्मचारीले नियतवस श्रमिकमाथि ज्यादति गरेको भन्दै आइतबार अध्यागमन विभाग अगाडि धर्ना दिदै विभागको महानिर्देशकको राजीनामा माग गरेका छन् ।
श्रमिकलाई कतिपयको कागजपत्रको वैधानिकता पुष्टि नभएको तथा असार २७ देखि कुवेती निकायबाट भिसा स्वीकृति नभएको भन्दै अध्यागमन प्रसाशनले श्रमिकलाई विमानस्थलबाट फर्काउदै आएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भिजिट भिषामा वैदेशिक रोजागारमा कामदार पठाउने नाममा अध्यागमनका तल्लो देखि माथिल्लो निकायका कर्मचारीले सेटिङ गरेर खाने प्रवृतिको व्यवसायीले अन्त्य गर्नुपर्ने आवाज उठाएकै कारण दुःख दिएको आरोप लगाए ।
विभागका कर्मचारीले एउटै देशको दुईवटा भिषा बोकेको लगायतका आरोप लगाएर श्रमीकमाथि ज्यादति गरेको भन्दै भण्डारीले भने, ‘नचाँहिदो कुरा गरेर विभागका डिजी देखि कर्मचारीहरु जो हिजो भिजिट भिषामा कामदार पठाउने नाममा सेटिङमा बाँचेका थिए त्यो सेटिङको काम वैदेशिक रोजगार व्यवसायीले सेटिङ बन्द गर्नुपर्छ भन्ने आवाज उठाएपछि त्यसको विरोधमा उहाँहरुले संस्थागत रुपमा कामदारलाई दुःख दिने व्यवसायीलाई तर्साउन खोजिएको छ,यस्तो काम नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’
कानूनी प्रकृया पु¥याएर वैदेशिक रोजगारीका लागि जान लागेका कामदारलाई फर्काएर दुःख र तनाव दिएको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको मात्रै छैन् अध्यागमनको उक्त कार्यको छानबिन गर्नुपर्ने माग गरेको छ ।
‘सबै प्रकृया पु¥याएर जान लागेका श्रमिकलाई रोक्ने जुन काम उहाँहरुले गरिरहनु भएको छ त्ये उनीहरुको निहित स्वार्थ र कामदार पठाउँदा उहाँहरुको गोजी नभरेको कारण कामदारलाई फर्काउने काम भएको छ । अध्यागमनको यो कामको गम्भीर रुपमा छानबिन गरेर श्रमिकमाथि ज्यादति गर्ने जो जो छन् तिनलाई कारबाही हुनुपर्छ’, भण्डारीले भने ।
त्यस्तै, उनले फर्काइर्एका कामदारहरुले गुमाएको आर्थिक रकमको क्षतिपूर्ति नदिए आन्दोलन गरिरहने चेतावनी दिए ।
उनले भने,‘एउटा श्रमिकले सरदरमा ६० हजार तिरेर टिकट काटेका हुन्छन् ।दुईसय जना कामदारलाई फर्काइएको छ । तिनको एक करोड २० लाख टिकटको पैसा कस्ले तिर्छ? जतिपनि कामदारलाई उहाँहरुले फर्काउनु भएको छ त्यसको क्षतिपूर्ति अध्यागमन विभाग, कार्यालयका कर्मचारीहरुले नपठाएसम्म हामी आन्दोलन गरिरहन्छौं ।’
वैधानिक प्रकृया पु¥याई जोर्डन जान लागेका १४ जना महिला सहित एक पुरुषलाई गत असार २४ गते पहिलो पटक अध्यागमन प्रसाशनले जोर्डन जानबाट रोकेको थियो । त्यसपछि असार २७ र २८ गते पनि विभागले श्रम स्वीकृति लिएर ठूलो संख्यामा कुवेत जान लागेका कामदारलाई विमानस्थलबाटै रोक्यो ।
जसमा, बिहीबार कुवेत उड्न लागेका १ सय १७ नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले रोकेको थियो । अध्यागमनले असार २७ देखि कुवेती निकायबाट भिसा स्वीकृति नभएको भन्दै प्रस्थान दिन रोकिदिएको हो । शुक्रबार दोस्रो पटक टिकट लिई पुनः कुवेत उड्न विमानस्थल पुगेका ३७ जना श्रमिकलाई पनि सोही कारण देखाई अध्यागमन प्रशासनले रोकिदिएपछि श्रमिकहरु आर्थिक र मानसिक रुपमा समस्यमा परेको भन्दै व्यवसायीले आज विरोध गरेका हुन् ।