तत्काल निर्वाचनको वातावरण बनाउन देशभरका रेडक्रसकर्मीहरुको माग
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले तत्काल निर्वाचनको वातावरण निर्माण गर्न सम्वन्धित सरोकारवाला निकाय तथा न्यायालयको ध्यानाकर्षण गराएको छ ।
आज माईतीघर मण्डलामा देशभरका रेडक्रस कर्मचारीले निर्वाचन रोकिदा आगामी साउन महिनादेखि नेपाल रेडक्रस सोसाइटीले देशभर प्रदान गरिने सबै सेवा रोकिन सक्ने भन्दै ध्यानाकर्षण गराए । प्रदर्शनमा सहभागीले निर्वाचनको वातावरण नबन्दा रक्त सञ्चार सेवा, एम्बुलेन्स लगायत सोसाइटीले सञ्चालन गरिरहेका सम्पूर्ण सेवा पूर्णरुपमा बन्दहुने अवस्थामा आएको बताए ।
प्रदर्शनमा डोटी जिल्ला शाखाका निवर्तमान सभापति लक्ष्य राम कोरले उच्च अदालतको आदेशले निर्वाचन रोकिएको हुदाँ सरकारको ध्यानाकषर्ण गर्नको लागि प्रदर्शनमा उत्रिएको भन्दै रेडक्रस जस्तो मानवीय संस्थालाई यस्तो अस्थिरतामा राख्न नहुने बताए ।
उनले केन्द्रीय सभाको विशेष महाधिवेशन आयोजना गरि नियमानुसार ७ प्रदेश समिति र ७६ जिल्ला शाखाहरुबाट प्रतिनिधि छनौट भई काठमाडौं आईसकेको अवस्थामा यसरी निर्वाचन रोक्नु उचित नभएको पनि बताए ।
उनले भने, काठमाडौंबाट निर्वाचन सम्पन्न गर्न प्राप्त निर्देशन अनुसार यही असार २७ र २८ गते काठमाडांैमा निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय सभाको बिशेष महाधिवेशन आयोजना गरि नियमानुसार ७ प्रदेश समिति र ७६ जिल्ला शाखाहरुबाट प्रतिनिधि छनौट भई काठमाडौ आईसकेको र निर्वाचनको तयारी पूरा भईसकेको अवस्थामा मिति २०८० साल असार २५ गते उच्च अदालत पाटनको आदेशले पुनः निर्वाचन रोकिएको हुदाँ सरकारको ध्यानाकषर्ण गराउनको लागि हामी यहाँ आएका हौ । अदालतले २९ गते यसको निष्कर्ष निकाल्ने निर्णय गरेको हुदाँ २९ गतेसम्म आफ्नो गतिविधिहरु रोक्न लागेका हौ । ’
यस्तै, सल्यान जिल्ला शाखा सदस्य कल्पना सेजुवालले रेडक्रस जस्तो मानवीय संस्थालाई अस्थिरतामा धेरै लामो समयसम्म राख्न नहुने भन्दै निर्वाचन प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउनु पर्ने बताईन् ।
उनले भनिन्, हाम्रो निर्वाचन प्रक्रियालाई निरन्तर रुपमा अगाडि बढाउन रेडक्रस जस्तो मानवीय संस्थामा यो अस्थिरता धेरै लामो समयसम्म भएको छ । २९ गते अदालतले एउटा निष्कर्ष निकाल्ने भनेको छ, हामी त्यो निर्णयको अपेक्षामा छौ । त्यो हाम्रो पक्षमा हुने हो भने ठीक छ भएन भने २९ गते पछाडि के गर्न सकिन्छ भनेर लाग्ने छौ । ’