‘पशुपति प्रसाद २ : भस्मे डन’ र ‘नाङ्गो गाउँ’को अमेरिकामा वितरणको अधिकार नेपाल ११ इन्टरटेनमेन्टलाई
पेन्सिलभेनिया, अमेरिका/ नेपालमा चाँडै नै प्रदर्शनमा आउन लागेका दुई चलचित्रको अमेरिका र क्यानडामा वितरणको अधिकार नेपाल ११ इन्टरटेनमेन्टले पाएको छ।
भर्खरै छायंकन सकिएको र सम्पादनमा रहेको चलचित्र ‘पशुपति प्रसाद २: भस्मे डन’र’नाङ्गो गाउँ’ उत्तर अमेरिकामा वितरण अधिकार नेपाल ११ इन्टरटेनमेन्टले पाएको हो।
बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ : भस्मे डनको युनाइटेड किंगडमको हक पनि नेपाल ११ इन्टरटेनमेन्टलाई बेचेको छ ।
दुई नम्बरी, गोपी लगायतका चलचित्रका निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र नाङ्गो गाउँमा दयाहाङ राई, मेरुणा मगर, सौगात मल्ल, कर्मा, बुद्धी तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र अमेरिका र नेपालमा सेप्टेम्बर १५ मा रिलिज हुँदैछ।
यस वर्षको अर्को बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २- भस्मे डन हो, दिपेन्द्र के खनालले निर्देशन गरेका छन्, जसमा सौगात मल्ल, स्वस्तिमा खड्का, भस्मे डनको भूमिकामा बिपिन कार्कीले अभिनय गरेका छन्।
दीपेन्द्र के खनालले महामारीको केही वर्षअघि रिलिज भएको पशुपति प्रसादको पहिलो भाग पनि निर्देशन गरेका थिए । यस वर्षको फुलपातीको दिन अर्थात अक्टोबरको तेस्रो साताको अन्त्यमा रिलिज हुने यो चलचित्र नेपालमा जस्तै उत्तर अमेरिकामा पनि एकै मितिमा रिलिज हुँदैछ ।
नेपाली भाषीहरुको बाक्लो संख्या भएका सहर र राज्यहरुमा यी चलचित्रहरु रिलिजको फाइनल भैसकेको छ, टेक्सास, क्यालिफोर्निया, ओहायो, न्युयोर्कलगायतका करिब २५ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन हुनेछन् ।
डेनभर, शिकागो, बोस्टन, सेन्ट लुइस, बाल्टिमोर जस्ता सहरहरू पहिले नै स्थानीय संस्थाहरूलाई बेचिसकेका छन्। बुकिङका लागि केही सहर मात्र बाँकी छन्, नेपाल ११ मनोरञ्जनमा सम्पर्क गरेर शो बुक गर्न सकिने जनाइएको छ।