शरणार्थी प्रकरणका फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तत्पश्चात जेठ १० गते सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ परेका र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् भने उनका श्रीमान हरिभक्त आज काठमाडौंबाटै पक्राउ परेका हुन् ।
शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो । आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।