चैते दशै बाल्टिमोर मेलामा …. (भिडियो सहित)
मेरील्याण्ड,अमेरिका/ नेपाली लोक संगितमा एउटा चर्चित गित छ, ‘चैते दशै बाग्लुङ्गे मेलामा…’ यो गित सार्वजनीक भए पछि, बाग्लुङ्गको विषेशता रहेको चैत्रअष्टमीमा कालिका भगवती मन्दिरमा लाग्ने चैते दशै मेला एक प्रकारले राष्ट्रिय करण नै भयो।
त्यही मेला अमेरिकामा पनि स्थापित हुने लयमा अगाडि बढेको छ।
अहिलेका चर्चित गायक प्रकास सपुत मञ्चबाट भन्दै थिए, ‘म बाग्लुङ्गमा जन्मिएको, अस्ति भर्खर चैत दशैमा पनि बाग्लुङ्ग पुगेको थिए, अहिले यहाँको माहोल हेरेर म अमेरिकामा छु भन्ने लागेकै छैन, नेपालकै कुनै ठाँउमा गाइरहेको छु जस्तो लागेको छ।’
हुन पनि मेरील्याण्डको बाल्टिमोर नजिक रहेको गनपाउडर स्टेट पार्क अप्रिल २३ तारिक आइतवार नेपालमय बन्यो। बाग्लुङ समाज अमेरिका मेरिल्याण्डले ‘चैते दशै मेला तथा नया वर्षको शुभकामना अदान प्रदानका लागि वनभोज राखेको थियो।
‘चैते दशै मेला बाग्लुङ्गको विषेशता हो,त्यसको झल्को दिने गरि हामी कार्यक्रम गर्छौ।’ कार्यक्रमको अघिल्लो दिन नै समाजका अध्यक्ष विपिन श्रेष्ठ समाज टाइम्स सँगको कुराकानीमा उत्साहित थिए।
‘हामी सँग गत वर्षको पनि अनुभव छ त्यो भन्दा भब्य गर्छौ, अलिकति मान्छे धेरै हुदाँ खानामा व्यवस्थापनका लागि अप्ठेरो पर्छकी भन्ने छ।’ अध्यक्ष श्रेष्ठले चिन्ता पनि जनाएका थिए।
तर आइतवार उनी सहित बाग्लुङ्गेहरु मात्र होइन समस्थ नेपाली उत्साहित हुने गरि कार्यक्रम सम्पन्न भयो।
मध्यान्न देखि नै पार्कको मुल गेटमा गाडीका ताति थिए। पार्कको विशाल चौरमा आफुलाई पायक पर्ने ठाँउमा सहभागिले अखडा जमाएका थिए। मेरील्याण्ड भन्दा बाहिरी राज्यमा बसोबास गर्ने नेपालीहरु पनि मेला भर्न पुगेका थिए।
मञ्चको एक कुनामा बाग्लुङ्ग कालिकाको ठूलो पोस्टर टागेर पुजा गरिएको थियो। माहोल रोमाञ्चित थियो। बाग्लुङ्ग समाज अमेरिकाका पूर्व सल्लाहकार गौरीश्वर शर्मा आचार्यले पानसमा बत्ति बालेर मेलाको औपचारिक रुपमा उद्घाटन गर्नु अगाडि नै नास्ताका लागि लामो लाइन थियो।
आयोजकका अनुसार खानाका लागि ६ हजार प्लेटको व्यवस्था गरिएको थियो। नास्ता र खानाका लागि ति सबै खपत भएको उनीहरुको भनाई छ। १५ सय भन्दा बढीलाई खाना खुवाएको समाजका अध्यक्ष श्रेष्ठले बताए। ‘हुन त केहीले एक पटक पनि खान पाएनन होला तर अधिकांसले खाजा र खाना गरि दुई पटक खाएका छन्।’ उनले भने।
खानाको लाइन दिनभरी नै चलिरह्यो। यता चौरमा एक कुनामा भलिवल चलिरहेको थियो। ‘बाग्लुङ्गमा हुने मेलाका अर्को पहिचान भलिवल पनि हो।’ उद्घोषक भन्दै थिए।
नेपालको अर्को मौलिक खेल ‘ठेलो’ मा महिला पुरुष दुबै तर्फ प्रतस्पर्धा नै भयो। महिलामा आज्ञा अधिकारी पहिलो भइन। पुरुषमा सुभाष सुनारले जिते। दुबै जनाले चार सय अमेरिकी डलर नगदै पुरस्कार पाए।
ठेलोको प्रतिस्पर्धा चल्दै गर्दा चौरको अर्को कुनामा पञ्चेबाजा घन्किसकेको थियो। लोक गायक एवं वाद्यवादक अमृत रामदामको नेतृत्वले पञ्चेबाजाको धुन पस्कदै गर्दा समाजका अध्यक्ष विपिन श्रेष्ठ, लोक गायकिका श्रृजना विहरी थापा, निशा सुनार लगायत पञ्चेबाजाको तालमा छमछम नाच्दा माहोल झनै उत्साहित बनेको थियो।
त्यस अगाडि नै स्थानीय बालकालिकाहरुले सांस्कृतिक प्रस्तुति दिइ सकेका थिए। राफल चिट्टाले अर्को रौनक थपेको थियो। राफलमा पहिलो हुनेले एक हजार र दोस्रो हुनेले पाँच सय डलर पाए।
प्रकास सपुत आफ्नो प्रस्तुति दिन मञ्चमा उक्लदै गर्दा आकासले लौ वित्यास नै पार्छकी भन्ने संकेत गरेको थियो। तर जव जव प्रकास सपुतले दर्शक नचाउदै गए, पानीका छिटाहरु आफै पाखा लागे। प्रकासले लगभग ढेड घण्टा दर्शकलाई नचाए।
आयोजकले प्रकासको शिरमा ढाकाको फेता बाधिदिएका थिए। त्यसपछि उनलाई ‘फूल’ लगाउनेको (पैसा शिरमा शिउरिने) लाइन लागेको थियो। ‘हुन त बाग्लुङ्गको संस्कृतिलाई निरन्तरता दिनु भएको होला, मेरो टाँउकोमा डलर फल्दै छ, अलिकति अप्ठेरो पनि लागेको छ।’ प्रकास बीच बीचमा भन्दै थिए।
मेलामा उपस्थितले आफ्नो रुचि अनुसार रमाइलो गर्ने अवसर पाए। मेला हरेक उमेर समुहलाई सुहाउने बनेको थियो। अक्सिजन पाइप लगाएका जेष्ठ नागरिक देखि काखमा बच्चा बोकेका महिला सम्म मेला भर्न आएका थिए।
बालबालिकाहरु कोही फुटबलमा व्यस्त थिए। अलि सानाहरु चिप्लेटी खेल्दै थिए। समग्रमा सबै उमेर समुह एकै ठाँउमा रोमाञ्चित हुने माहोल बनेको थियो।
मेलामा प्रवेस निशुल्क थियो। प्रकास सपुतको प्रस्तुति सकिदा सम्म खानाको लाइन सकिएको थिएन। खानामा भेराइटी थियो। बालबालिकाहरुका लागि विषेश व्यवस्था थियो। मेलामा आएकाहरु भोकै फर्कन नपर्ने गरि आयोजकले व्यवस्था गरेका थिए।
प्रकास सपुत अगाडि राष्ट्रिय कलाकार राजन ठकुरी, लोकगायीकाहरू निशा सुनार,सृजना थापा,शान्ति भण्डारी,सौरूपा बराईलीले आआफ्नो प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
‘अमेरिकामा घरका बेसमेन्टमा सिमित हुँदै आएका हाम्रा चाड पर्व, हल हुँदै अब खुल्ला स्थानमा पुगे। आएका मान्छेले कुनै असुविधा महशुस गरेनन।’ मेलामा पुगेका सुदुरपश्चिम समाजका अध्यक्ष दमन विक्रम शाहले समाज टाइम सँग भने।
‘विदेशमा रहेका नेपालीलाई हामीले छोडेर आएका हाम्रा संस्कृतिलाई सम्झाउन, चर्चित कलाकार ल्याएर जसरी जोडे त्यो ठूलो काम हो।’ शाहले भने, ‘उहाँहरुले मेरील्याण्डमा रहेका सबै समुदायलाई बोलाउनु भएको थियो । त्यसले गर्दा देशभरीकै उपस्थिति भयो।’
शाहले मेलाले सबै उमेर समुहलाई समेट्नु अर्को राम्रो पक्ष भएको बताए, ‘सबै पुस्ता जोडिए। मेरो सासु ८३ वर्षको हुनु हुन्छ, छोरो ११ वर्षको म पचास बर्षको सबै उमेर समुहकालाई सुहाउने माहोल थियो।’
‘व्यवस्थापन राम्रो थियो। त्यत्रा मान्छेलाई खाना खुवाउन सजिलो छैन। सबै समाजले अव अनुकरण गर्नु पर्छ। सबै समाजले यसरी आफ्नो एउटा एउटा पर्व मनाउने हो भने नेपाल मिस हुदैन।’ उनले थपे।
मेला बालमैत्री भएको शाहको अनुभव छ। ‘हाम्रा बच्चा नेपाली कार्यक्रममा आउन चाहदैन, किनभने कतिपय कार्यक्रममा वातावरण नै हुदैन। खानाकै समस्या हुने, मनोरञ्जनको बातावरण नै हुन्थेन। यस पटक सुधारको प्रयास शुरु भएको छ। अमेरिका किन आएको भन्दा बच्चाको लागि भन्छौ तर कार्यक्रम गर्दा आफुलाई मात्र सोच्छौं। त्यो तोडिएको छ। यसको सिको अरुले पनि गर्नु पर्छ।’ उनले भने।
मेलामा सहभागि भएका वरिष्ठ पत्रकार तरुण पौडेलले समग्रमा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। ‘राम्रो जमघट थियो। प्रकास सपुतको गीतले पनि जोड्यो। सबैलाई सुहाउने खालको कार्यक्रम थियो। मौषमले पनि साथ दियो कार्यक्रम राम्रो थियो।’
साँझ पर्दै गए पछि सहभागिहरु पातलिदै थिए। बाग्लुङ्ग समाजका स्वयम सेवकहरुलाई भने सरसफाइमा भ्याइनभ्याइ थियो। हतारमा रहेका आगामी कार्यकालका अध्यक्ष तथा वर्तमान महासचिव नीर बा थापा भन्दै थिए, ‘ यस पटक केही कमिकमजोरी भयो होला, अर्को पटक हामी झन राम्रो गर्छौ।’
थापाको यो प्रतिज्ञाले, चैते दशै बाग्लुङ्गे मेला… अब चैते दशै बाल्टिमोर मेलाको पहिचानमा बन्ने पनि संकेत गरेको छ।
भिडियो पनि …