प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालको सहज जित
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।
खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३०औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा १ गोल थपेको थियो ।
खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २–० को सहज जित हासिल गर्यो ।
खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए । प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भूटानसँग खेल्नेछ । त्यसअघि लाओस र भूटानले यही चैत ११ गते खेल्नेछन् ।