सेयर बजारमा लगातार गिरावट आउँदा आँत्तिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा लगातारको गिरावट आएको छ । बजारमा सेयर आपुर्ति धेरै रहेका कम्पनीहरुको सेयर मूल्य ओरालो लागेपछि लगानीकर्ताहरुको मनोवल खस्कदोँ छ ।
आज बुधबारको कारोबारमा दुई सय १४ कम्पनी मध्ये एक सय ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमा पनि धेरै सेयर आपुर्ति रहेका बाणिज्य बैंकहरुको सेयर मूल्य उल्लेखनीय रुपमा ओरालो लागेको छ ।
केही बाणिज्य बैंकको निस्क्रिय कर्जा बढ्ने हल्ला बजारमा फैलिएपछि बैंकिङ क्षेत्रको सेयरमा बिक्री चाप बढेको छ । बुधबारसम्ममा बाणिज्य बैंकको सेयर मूल्य लगातार खस्किएर १० वटा बैंकको सेयर मूल्य २०० रुपैयाँ हाराहारीमा झरिसकेको छ ।
त्यसैगरी लघुवित्त कम्पनीहरुमा ऋणीहरुको आन्दोलन र संभावित जोखिम ब्यवस्थापनको अन्योलले ती कम्पनीका सर्बसाधारण सेयर धनीहरुको मनोवल पनि कमजोर बनेर लगातार गिरावट आईरहेको छ ।
राष्ट्रपति निर्वाचनसँगै फेरिएको राजनीतिक गठबन्धन, नयाँ अर्थ मन्त्री को बन्ला ? भन्ने अन्यौल लगायतका कारणले पनि लगानीकर्ताहरुमा प्रभाव परेको छ । बैंकहरुले ब्याज दर घटाएको सुखद खबरको प्रभाव समेत सेयर बजारमा पर्न सकेको छैन । नयाँ अर्थमन्त्री चयन भएर विस्वासको वातावरण सिर्जना हुने प्रतीक्षामा रहेको लगानीकर्ताहरु बताउँछन्।
लगानीकर्ता नयन बास्तोलाले भने ‘बजार घट्नुपर्ने त्यस्तो महत्वपूर्ण कारण नै देखिदैन , नियामक निकायले लगानीकर्तालाई विश्वासमा लिन सकेको छैन् र अर्थमन्त्री को आउँछ भन्ने कुराले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका हुन सक्छन् ।
नेपाल स्टक एक्सचेन्जमा बुधबार बीचको समयमा धेरै दरले सेयरको मुल्य खस्केकोमा अन्तिममा सुधार भई सूचक १४.४४ अंकले गिरेर, १९३६ . ६२ मा बजार बन्द भयो ।
सबैभन्दा धेरै पूँजीकरण भएको बाणिज्य बैंक सूचक ९.९४, जीवन बीमा सुचक ६९.४६ र लघुवित्त ६८.३५ अंकले तल आए । बुधबार एक अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर समग्र बजार पूँजीकरण २८ खर्ब २ अर्बमा झरेको छ ।