उत्तरी क्यालिफोर्नियामा भारी वर्षा र बाढीले जनजीवन प्रभावित
अमेरिका । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
पजारो खोलामा बनेको बाँध भत्किएपछि आसपासका क्षेत्र बाढीको पानीमा डुबेका छन् । जसका कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् ।
मौसम केन्द्रले चेतावनी दिएपछि सेन्ट्रल कोस्टको मोन्टेरी काउन्टीमा ८,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको मिडिया रिपोर्टहरू छन्।
जसमध्ये पजारो खोलाको बाँध भत्किँदा एक हजार ७ सय जना बाढीमा फसेका छन् । पजारो नदीमा बनेको बाँध करिब १०० फिट चौडा भएको अधिकारीहरुले बताएका छन् । शनिबार बिहानै परेको अविरल वर्षाका कारण बाँध भत्किएपछि उक्त क्षेत्र डुबानमा परेको हो ।