अर्थतन्त्र सुधारोन्मुख छ : गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले गतवर्षको तुलनामा यसवर्ष सहज अवस्थामा रहेको बताए । उनले भने ‘ हामी पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत छ । जुन डेटा गत सालको पुस मसान्तमा हेर्नुभयो भने २४१ अर्बको घाटामा थियौँ । माघको तथ्यांक केही दिनभित्रै आउँदैछ ।’
यसैगरी अहिले वाह्य क्षेत्रको तथ्यांक सुधार भएको र करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको पनि गर्भनर अधिकारीले बताए ।
उनले भने ‘हामी करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ । यसले हामीलाई के बुझाउँछ भने हामी सुधारको अवस्थामा छौँ । सबै कुरालाई नकारात्मक रुपले नलिऔँ । हामी सहज स्थितिमा छौँ ।’
गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको पनि बताएका छन् ।