कांग्रेस- एमाले सहकार्य हुन सक्छ : अध्यक्ष ओली [भिडिओ]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सक्ने तर्क गरेका छन् ।
बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै कांग्रेस र एमालेको संयुक्त सरकार बन्दैन भन्न नसकिने टिप्पणी गरे ।
‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’
उनले आगामी राष्ट्रपतिबाट सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका बहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए।
अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको समेत बताए ।