यूएईमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ ।
नेपाली समयअनुसार सोमबार साँझ भएको खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो । दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल विजयी भएको हो ।
यो सँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ ।
नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएपनि ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनाएको यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रनको अर्धशतकीय ईनिङ खेले ।
आर्यन लाक्राले ५० रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले १३ रन बनाउँदा यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३÷३ तथा आरिफ शेख,करण केसी र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए ।
सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २÷२ विकेट लिए ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो । आजको खेलसंगै नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।
