‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिए : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जो सँग पनि नी मिल्ने प्रवृती देखाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
शहिद परिवार तथा विभिन्न राजनैतिक आन्दोलनका क्रममा घाईते भएकाहरूको सम्मानमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पदको लागि जता जो सँग मिलेर भएपनि सत्तामा पुग्ने र आफ्नै स्वार्थ पुरा गर्ने कार्यहरु भईरहेको टिप्पणी गरे ।
‘एउटा प्रवृत्ति छ नि विरालो किन्नु पर्दैन दुध र भात कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ । कस्ले कचौरामा कति दुधभात दिन्छ त्यसअनुसार छिमेकीका घरतिर सर्ने त्यस प्रवृत्तिले सरकारमा हुनु र नेतृत्व गर्नु जारी छ ।’ ओलीले भने।
ओलीले प्रचण्डले आफूलाई झुक्याउन खोजेको बताए । ‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो । मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’
‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको ओलीले दाबी गरे।
‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’ उनले भने।
नेतृत्व गर्ने मान्छे तीन पटक प्रधानमन्त्री भै सके तर घाउ अझै उस्तै छ
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले द्वन्द्वको घाउ मेटाउन नसकेको आरोप लगाए । उनले, जनयुद्धका सञ्चालक, आज शासनको कार्यकारिक प्रमुख भएको तर द्वन्द्वको घाउ अझै उस्तै रहेको टिप्पणी गरेका हुन् ।
‘कसैलाई दुख्ला सकैलाई नदुख्ला तर नेपाल र नेपाली जनतालाई दुख्छ। त्यसको घाउ अझै पनि छ । त्यसका सञ्चालक शासनको कार्यकारी प्रमुखको ठाउँमा छ । ६२—६३ को आन्दोलन देखि नै सरकारमा छन् । प्रधानमन्त्री भएको ३ पल्ट भयो सरकार भएको कति वर्ष भो कति वर्ष भो ।’
उनले नामै लिएर प्रधानमन्त्री प्रचण्डले एउटा बोल्ने र अर्को काम गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन् भन्दै प्रश्न गरे ।
उनले गैरसरकारि स्तरबाट द्वन्द्व पीडित परिवारलाई अर्थपुर्ण सहयोग गर्न सम्भव नभएको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
‘प्रधानमन्त्री जि ले घाईते समझनु भएको छ कि छैन् । सहिदमा परिवार सम्झिनु भएको छ कि छैन् । आफ्नै स्वार्थ आफ्नै परिवार मात्रै सम्झिनु हुन्छ की अरु पनि सम्झिनु हुन्छ । उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन् ।’ ओलीले भने।
उनले प्रधानमन्त्री प्रचण्डले युद्धका साथी, सिपाही र जनतालाई धोका दिएको उल्लेख गर्दै मलाई धोका दिनु ठूलो कुरा नभएको बताएका छन् ।
‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा ?
लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको पनि ओलीले दाबी गरेका छन् ।