जितमा नेपालको ह्याट्रिक, नामिबिया ३ विकेटले पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि ३ विकेटको जित दर्ता गरेको छ।
घरेलु मैदानमा जारी सिरिजमा लगातार तेस्रो जित निकालेको नेपालले नामिबियालाई लगातार दोस्रो पटक हराएको हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नामिबियाको यो लगातार तेस्रो हार हो ।
कीर्तिपुरस्थित मैदानमा शनिबार नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।
आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।
७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६४ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्रले ६५ रन बनाए । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् । कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६२ रनको अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो ।
९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे । पूर्व कप्तान मल्ल तथा ओपनर शेखबीचको यस साझेदारी नेपालको एकदिवसीय अन्तराष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो। यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो ।
कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । सोमपाल कामी ८ रनमा अविजित रहदा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले १÷१ रन जोडे । सन्दीप जोराले ३ रन जोड्दा गुलशन झा सुन्य रनमा अविजित रहे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २÷२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय पारी खेले ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।
नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।