पेन्सिलभेनियाको ल्यानक्यास्टरमा सोनाम ल्होछार धुमधाम मनाइयो,२२ तामाङ परिवारले गरे अद्भुद
ल्यानक्यास्टर / अध्यक्ष मन पाख्रिङ (तामाङ) सहित तामाङ सोसाइटी अफ ल्यानक्यास्टरका पदाधिकारीहरुलाई शनिवार बिहान सम्म पनि मनमा दोधार थियो। यस पटक उनीहरुले ठूलै आट गरेका थिए। सानो समुदायले ठूलो कार्यक्रम गर्ने चुनौति उठाएका थिए।
शुरुमा उनीहरुले शहरमा रहेको एउटा रेष्टुरेण्टको बेसमेन्टमा सोनाम ल्होछार मनाउने निदो गरेका थिए।
अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यानक्यास्टरमा जम्मा जम्मी २२ घर तामाङ समुदायको बसोबास छ। ‘अलिअलि पाहुना आए भने त रेष्टुरेण्ट साँघुरो हुन्छ’ त्यसो हो भने ‘हल’ खोजौ पदाधिकारी बीचमा छलफल भयो,’हाम्रो चाँड हामीमा मात्र किन समिति राख्ने।’
ल्यानक्यास्टरमा नेपाली समुदायको बाक्लो बसोबास हुने भन्दा अलिक कोल्टो पर्ने लिटिज रकमा उनीहरुले हल पाएका थिए। फेब्रुअरी चार तारिक शनिवारको मौषम सिजनकै अत्याधिक चिसो हुने चेतावानी अधिकारीले दिएका थिए।
आयोजकलाई पनि डर त्यही थियो मान्छे पो आउदैनन् की । टाडा पनि छ, फेरि औधी जाडो।
बिहान सखारै पदाधिकारी हलमा पुगिसकेका थिए। नौ बज्दा नबज्दै लामा गुरुहरु पुजा पाठमा लागे।
स्टेजमा तोर्मा स्थापना गराइएको। छेवाङ्ग पुजा भयो। बाह्र ल्होहरुलाई मन्छाइयो। बाघ वर्गलाई विदाई गरियो। विरालो वर्गलाई स्वागत गरियो। खुसी साटासाट गरियो।
लामा गुरुहरुले प्रसाद बाढ्दै गर्दा हलमा सहभागि बाक्लिन थालेका थिए। लिटिज रक हलका व्यवस्थापकका अनुसार हलको क्षमता ६ सय हो। हलको बाल्कोनिक पनि खचाखच देखिएको थियो।
पेन्सिलभेनियाका पीटर्सबर्ग, स्क्र्यान्टन, ह्यारिसबर्ग, फिलाडेल्फिया आसपासबाट मात्र होइन नर्थक्यारोलिना, भर्जिनिया र मेरिल्याण्डबाट पनि पाहुना आएका थिए।
सहभागिका लागि प्रवेस टिकट र खाना निशुल्क थियो। स्टेजमा गित तथा नृत्य एक पछि अर्को गर्दै प्रस्तुत भइरहेका थिए। स्थानीय देखि व्यवसायीक कलाकारको प्रस्तुती बेजोड थियो। गायक संजोक योञ्जनले माहौल निकै तताए। उनले गाउदा दर्शक खुब नाचे।
आयोजकलाई पाहुनाको खानपानमा ध्यान दिनु पर्ने जिम्मेवारी पनि थियो । साँझ सात बजे सम्म स्टेज र खानपिनमा दुबै तर्फ उनीहरु निरन्तर लागि रहे।
तामाङ सोसाइटी अफ ल्यानक्यास्टरका अध्यक्ष मन तामाङले कार्यक्रम सोचिए भन्दा फरक भएको प्रतिक्रिया दिए।
‘कार्यक्रम सोचे भन्दा फरक भयो, अर्को कुरा हामीले आशा गरेको भन्दा बढी अतिथिहरुको उपस्थिति रहयो।’ कार्यक्रम पछि समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष तामाङले भने,हामीलाई तीन सय जति हुन्छन् की भन्ने थियो। पाँच सय भन्दा बढी सहभागि भए। कार्यक्रम भब्य भयो।’
उनले टाडा टाडाबाट पनि पाहुनाहरु आउदा आफुहरुलाई हौसला बढेको बताए। ‘तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्गटन, तामाङ सोसाइटी अफ पेन्सिलभेनियाबाट आएका अतिथिहरुले हौसला दिनु भयो, सफलता पूर्वक कार्यक्रम सक्यौ कुनै विघ्नबाधा आएन, झैझगडा भएन।’
कार्यक्रमकी प्रमुख अतिथि तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्गटन भर्जिनियाकी महासचिव रोजि घिसिङ, विषेश अतिथि तामाङ सोसाइटी अफ पेन्सिलभेनियाका अध्यक्ष कभी घिसिङले शुभ कामना मन्तव्य दिएका थिए।
पासाङ तामाङ, सञ्जय योञ्जन र शंकर तामाङले स्टेजको कार्यक्रम संचालन गरेका थिए।
दश हजार डलर भन्दा बढी खर्च
एक दिने ल्होछार कार्यक्रममा कागि दश हजार भन्दा बढी खर्च भएको तामाङ सोसाइटि अफ ल्यानक्यास्टरका कोषाध्यक्ष हर्क तामाङको भनाई छ। ‘पूर्ण विवरण आएको छैन तर लगभग दश हजार डलर खर्च नाघेको अनुमान गरेका छौ।’
हर्कले यस पटक संस्थाको रकम ल्होछारमा खर्च नहुने पनि प्रष्ट पारे, ‘संस्थाको खासै खर्च हुदैन हामीले प्रायोजक पाएका थियौ, प्रेम बराल, कमल काफ्ले, दधी काफ्ले, यदु धितालले सहयोग गर्नु भयो।’
कार्यक्रममा प्रवेस टिकट र खाना निशुल्क थियो। अध्यक्ष तामाङका अनुसार चार सय भन्दा बढी पाहुना आएको अनुमान छ।
‘ठ्याक्कै त भन्न सकिदैन तर हामी २२ घरमा मोटामोटी एक सय दश जना छौ, चार सय भन्दा बढी पाहुना आए।’ अध्यक्ष तामाङले भने, ‘हामीले दश वर्ष भन्दा माथिका सहभागिलाई नाडीमा ब्यान्ड लगाइदिएका थियौ। कति सहभागि भए, भविश्यमा काम गर्न सजिलो होस भने त्यसो गरेका हौ। पाँच सय पचास ब्यान्ड प्रयोग भएको पायौ।’
सोचे भन्दा फरक रहेछ ल्यानक्यास्टर : गायक संजोक योञ्जन
तामाङ सेलो, लोक लयमा अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाएका गायक संजोक योञ्जनले ल्यानक्यास्टरको व्यवस्थापन सोचे भन्दा फरक पाएको प्रतिक्रिया दिए।
एक दशक भन्दा बढी समय देखि न्यूयोर्कमा बस्दै आएका गायक संजोकले अमेरिकाका अन्य शहरमा हुने ल्होछारहरुमा पनि प्रस्तुति दिदै आएका छन्।
‘मैले सोचेको थिइन ल्यानक्यास्टरमा यति धेरै मान्छे आउछन भनेर,आयोजकले धेरै नै मेहनत गरेको देखिन्छ, अध्यक्ष मन तामाङ लगायत उहाँको मातहतमा भएको सबै साथिहरु खटेको देखिन्छ। प्रचार प्रसार पनि राम्रो भएको देखिन्छ।’
गायक संजोकले ल्यानक्यास्टरको ल्होछारमा गैर तामाङहरुको सहभागिता पनि उल्लेख्य विषय भएको बताए।
‘नेपाली समुदाय एकै ठाँउ हुदा खुसी लाग्यो। न्यूयोर्ककै कुरा गर्दा, अरु राज्यहरु तिर हुने ल्होछारमा तामाङले गरेको कार्यक्रममा तामाङ नै ९० प्रतिशत हुन्थे, यहाँ त सबै समुदायको मान्छे आएको देखिन्छ। सानो समुदायले यत्तिको काम गर्नु भनेको त राम्रो हो नी।’ संजोकले भने।
तामाङ सोसाइटी अफ ल्यानक्यास्टरका अध्यक्ष मन तामाङले पनि सबै नेपालीलाई एकै ठाँउमा जम्मा गराएर चाड मनाउने आफुहरुको उद्देश्य पुरा भएको बताए।
‘ल्होछार कुनै जात जातिको मात्र नभएर राष्ट्रिय पर्वकै रुपमा मनाउन पर्छ,नेपालीको पर्व हो भनेर स्थापित गराउन खोजेका हौ। त्यसमा सफल भयौ।’