कृसु क्षेत्रीका दुई छोटा कविता
कृसु क्षेत्री
१) लोकतन्त्र
पहिले पक्कीबाटो थिएन मेरो गाउँमा
बसाइ सर्नेहरू हाम्रै गाउँको गोरेटोबाटै सर्थे
त्यही गोरेटो भएर रातिराति
एकहुल जंगली हात्तीहरू हिंड्दा
मध्यरातमा कुकुर भुकिरहन्थे
तर हात्ती लम्किरहन्थे
बिहानै बाँदरहरू त्यही बाटो हिंड्थे
कुकुरहरू चुप हुन्थे
तर बाँदरले गाउँभरि विध्वंस गरिसक्थे
बाली नष्ट गरिसक्थे
मेरो गाउँमा अहिले
विकास पुगेको छ
मोटरबाटो बनेको छ
अचेल गाउँ शान्त छ
हात्ती यदाकदा गाउँ छिर्छन्
उसरी नै शान्त लम्किरहन्छन्
बरू बेला बेला चकमन्नता चिर्दै
कुकुर भुकेको सुनिन्छ ।
गाउँ शान्त हुनुको रहस्य
बाँदरहरू निर्वाचित भएर
संसद छिरेका छन् ।
२) संघीयता
शहरमा एउटी उन्मत्त अधवैंसेको
अनायास मृत्यु भयो
एकदिन ।
ऊ नवयौवनामा चर्चित थिई
पत्र-पत्रिका,
सामाजिक संजाल सबैतिर
उसका अत्तरका,
सुडौल शरीरका,
नयाँ नयाँ रोमान्सका र
सहवासका चर्चा हुन्थ्यो ।
अझ उसले कतिजनासँग राखी सम्बन्ध,
कोसँग भो ब्रेक अप,
हरदिन चल्थ्यो हल्ला ।
ऊ मरेको बेला
उसको लाशबाट आएको थिएन
कुनै अत्तरको वासना
बरु भन्किरहेका थिए झींगाहरू
बसाइ सरिसकेका थिए जुम्राहरू ।
हेर्दाहेर्दै खरानी भो
उसको सुडौल शरीर ।
सयौंसँग रात बिताइसकेकी
एउटी चर्चित महिलाको मृत्यु
समवेदना शून्य अनि
गुमनाम थियो।
(२०७९ माघ मधुपर्कमा प्रकाशित)