रि-रिलिज हुँदै “द कश्मीर फाइल्स”
मुम्बई । भारतमा अघिल्लो वर्ष विवादका साथै चर्चा बटुल्न सफल फिल्म “द कश्मीर फाइल्स” आजदेखि पुनः प्रदर्शन अर्थात रि-रिलिज हुने भएको छ ।
गत मार्च ११ मा पहिलो पटक रिलिज भएको यो फिल्मले भारतको बक्स अफिसमा राम्रै व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।
फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीट गर्दै फिल्म रि–रिलिज गर्ने घोषणा गरेका हुन् । “द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ । बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ”, उनले ट्वीट गरेका छन् ।
फिल्मका अभिनेता अनुपम खेरले पनि रि–रिलिजको पुष्टि गरेका छन् । “सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला”, अनुपमले ट्वीट गरेका छन् ।