नेता पुनको कलेजो प्रत्यारोपण गरिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ। उनको कलेजोमा समस्या देखिएपछि कलोजो प्रत्यारोपण गर्नुपर्ने भएको हो ।
नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए ।
‘मैले उहाँलाई उपचार गर्न थालेको १०/१२ वर्ष नै भइसक्यो । उहाँले बीचमा बाहिर उपचार गर्नुभयो । पछिल्लो समय कलेजो कमजोर देखिएको छ । जसले गर्दा अस्ति रोल्पाबाट हेलिकप्टरबाट काठमाडौँ ल्याइयो । जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको छ’ शर्माले भने, ‘मेडिकल उपचार बाहिर र यहाँ एउटै हो । मेडिकल उपचार खासै फरक हुँदैन । लिभरलाई किड्नी जस्तो डाइलासिस गरेर हुँदैन । लिभर नै फेर्नुपर्छ । लिभर कमजोर भए फेर्नुको विकल्प हुँदैन ।’
किड्नीको प्रत्यारोपण नियमित भएपनि कलेजोको नियमित प्रत्यारोपण हुन नसकेको शर्माले बताए । ‘लिभरको प्रत्यारोपण त्यति धेरै भइराखेको छैन । विदेशबाट आएका चिकित्सकले फाट्टफुट्ट गर्ने गरिएको छ । उहाँले कहाँ उपचार गर्ने भनेर सम्पर्कगरी राख्नुभएको छ’ शर्माले भने, ‘नेपालमा लिभर प्रत्यारोपण गर्दा रिक्स हुन्छ । मैले बाहिरै लिभर प्रत्यारोपण गर्न सुझाएको छु । सर्जिकल र स्किलको कुरा पनि हुनसक्छ ।’
पुनलाई कलेजो प्रत्यारोपणका लागि परिवारका सबै सदस्य तयार रहेको शर्माले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने बताए । अरु देश हेरेर खर्च लाग्ने बताइएको छ । कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना लाग्छ । त्यसपछि २ महिना जति रेष्ट गर्नुपर्छ’ शर्माले भने ।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचारसमेत गराएका थिए ।
नेता पुन जन्डिस रोगबाट पीडित छन् । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका थिए । आज उपराष्ट्रपति नन्दबहादुर पुन र एकिकृत समाजवादी अध्यक्ष माधव नेपाल पनि पुनको स्वास्थ्य अवस्था बुझन पुगेका छन् ।