खराब चुनावी नतिजा पछि माओवादीमा विशेष महाधिवेशनको माग
काठमाडौं । हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको आकार खुम्चिएपछि पार्टीका नेता कार्यकर्ता हतोत्साहित र निरास भएका छन् ।
गत आइतबार बसेको पदाधिकारी बैठकमा समेत नेताहरुले पार्टीलाई पुनर्संरचना गर्ने बेला भएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् ।
पार्टी बलियो र क्रान्तिकारी हुँदै जानुपर्नेमा उल्टै रक्षात्मक बन्न थालेपछि नेताहरुले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने मत राखेका हुन् ।
पार्टीका २१ पदाधिकारीमध्ये १० जना हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । त्यसमध्ये ५ जनामात्रै निर्वाचित भए । योसँगै युवालाई अघि सारेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेको हो ।
‘अहिलेकै अवस्थामा रहने हो र पार्टी पुनर्संरचना नगर्ने हो भने अब हुने चुनावमा पार्टी सिंगल डिजिटमा जाने पक्का छ । त्यसपछि हामी पुग्ने भनेको चौथो पार्टीको हैसियतमा हो भन्ने आधार देखिइसकेको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘अब पार्टीले विशेष महाधिवेशन गरेर युवालाई नेतृत्वमा ल्याइएन भने अधिकांश युवा नेता यो पार्टीबाट उम्मेदवार हुने सम्भावना छैन ।’
अहिलेको नतिजालाई माओवादीले अवसरको रुपमा लिएर विशेष महाधिवेशन मार्फत रुपान्तरण गर्न ढिला गर्न नहुने ती नेताले बताए । यस्तै पार्टी पोलिटब्यूरो सदस्य रामदीप आचार्यले अहिलेकै अवस्थामा माओवादी पार्टी चल्न नसक्ने भन्दै विशेष महाधिवेशन गरेर पार्टी पुनर्संरचना गर्न जरुरी भएको जिकिर गरे ।